फर्केर हेर्दा : दशवर्षे जनयुद्धमा महिला

प्रकाशित मिति : २०७४ फाल्गुन २४

जनयुद्ध शुरु हुनुभन्दा ८० वर्षअघि रुसको सफल क्रान्तिको नेतृत्व गर्ने साम्यवादी नेता लेनिनले क्रान्तिको सफलता उक्त क्रान्तिमा महिलाको कस्तो सहभागिता छ, त्यसले निर्धारण गर्छ भनेका थिए । लेनिनले भनेजस्तै नेपालको जनयुद्धको सफलताका पछाडि महिलाहरुको महत्वपूर्ण भूमिका थियो भन्ने यथार्थमा कसैको दुईमत हुन सक्दैन ।

अपमान र उत्पीडन

नेपालका महिला सदियौंदेखि दोश्रो दर्जाको नागरिकसरह बाँचिरहेका थिए÷छन् । ग्रामीण भेग र तराईमा त महिलाको स्थिति कहाली लाग्दो थियो र अभै पनि छ । नेपाली समाजमा महिलालाई अबला भनिन्थ्यो÷भनिंदैछ र धेरै नेपाली नारीको आफ्नो पहिचान नै थिएन÷छैन । उनीहरु सुरुमा बाबुको नामबाट, त्यसपछि श्रीमानको नामबाट र जीवनको उत्तरार्धमा छोराका नामबाट चिनिन बाध्य थिए÷छन् । विश्वका धेरै महिलाहरुजस्तै नेपालका महिलाहरु पनि अरु धेरै उत्पीडनका अलावा पितृसत्तात्मक समाजको उत्पीडन सहन बाध्य थिए÷छन् । ती अभाव, अपमान र आत्मसम्मानहीन जीवन बाँचिरहेका थिए । ती बोले पोथी बासेको भनिन्थ्यो, तिनले पढे पोइल जान्छन् भनिन्थ्यो, ती हाँसे बेश्या हुन्छन् भनिन्थ्यो नेपालमा महिला खासगरी ‘बुहारी’ बन्ने महिलालाई होच्याउने, खिज्याउने गरी बनाइएका कैयौं उखान छन् । छोरो नजन्मिए महिलालाई दोषी ठह¥याइन्छ जबकि त्यसमा पुरुष जिम्मेवार हुन्छ ।

त्यसका अलावा बाल, बहु र अनमेल विवाहबाट पनि पीडित हुने महिलाहरु नै हुन् । दाइजो, देउकी, झुमा, कुमारी, छाउपडी, वादी प्रथाहरुले नेपालमा महिलामा झन् उत्पीडन थपिदिएको थियो । नेपालका हजारौं युवतीहरुलाई बेश्यावृत्तिमा लगाउनका लागि दलालहरुले भारतका विभिन्न शहरमा रहेका बेश्याकोठीमा लगेर बेचिदिन्थे÷बेचिदिन्छन् । शहरीकरण बढ्दै जाँदा शहरहरु र सडक मार्गवरिपरि बेश्यावृत्ति गर्न धेरै यृवतीलाई बाध्य बनाइएको थियो÷छ । त्यसका अलावा विभिन्न सुन्दरी प्रतियोगिता, फेसन सो, मसाज केन्द्र, क्याविन रेष्टुरेन्टका आधुनिक आवरणमा महिलाहरु नै पीडित बनेका थिए÷छन् ।

त्यसो त नेपालका कैयन राष्ट्रवादी युद्ध एवम् राज्यसत्ताविरोधी विद्रोहमा महिलाहरुले आफ्नो साहसको प्रदर्शन गरेका छन् । अङ्ग्रेजविरुद्ध लडिएको नालापानीको मोर्चामा पुरुषसँगै महिला र केटाकेटीले पनि योगदान गरेका थिए । वि.सं. १९९८÷९९ तिर योगमायाले महिला विद्रोह उठान गर्न खोजेकी थिइन । २०३६को विद्रोह होस् वा २०४६को जनआन्दोलन महिलाहरु ठीक समयमा अगाडि आएका छन् ।

महिलामा समस्या र अधिकारको सही दृष्टिकोण

विश्व इतिहासमा महिलामाथिको उत्पीडन र त्यसबाट मुक्तिका बारेमा गम्भीर र वैज्ञानिक विश्लेषण साम्यवादका प्रवर्तक कार्ल माक्र्सले गरेका थिए । माक्र्स स्वयम्ले मजदुरहरुको अन्तर्राष्ट्रिय संघको गठन पहल गरेर सन् १८६४मा महिलाका समस्याहरु किटान गर्दै उनीहरुको अधिकारका लागि उद्घोष गरे । साम्यवादी घोषणापत्र लेखनमा माक्र्सका सहकर्मी फ्रेडरिक एंगेल्सले मातृसत्ताको पतन महिलाहरुको ऐतिहासिक पराजय भएको बताएका थिए । उनले त्यसपछि महिलालाई मनोरञ्जनको साधन, बच्चा जन्माउने मेसिन र पुरुषको दासको स्तरमा अवमूल्यन गरिएको विश्लेषण गरे । त्यसपछिका सबैजसो कम्युनिष्ट क्रािन्त एवम् तिनको नेतृत्वले महिला अधिकारको पक्षमा महत्वपूर्ण कदमहरु चालेका छन् । सन् १९१७मा रुसमा क्राति हुनेवित्तिकै महिलाहरुलाई पुरुष सरह अधिकार दिइएको थियो । भियतनामका कम्युनिष्ट नेता हो चि मिन्हले महिलालाई युद्धको ‘पावरहाउस’को रुपमा व्याख्या गरेका छन् । विश्वका सबै समाजवादी क्रान्तिहरुमा महिलाको सहभागिता उल्लेखनीय छ । हरेक वर्ष मार्च ८ मा मनाइने श्रमिक महिला दिवस समाजवादी महिला नेतृहरुको संघर्षको प्रतिफल हो ।

जनयुद्ध संघर्ष

कम्युनिष्ट पार्टीहरुले वि.सं ३०को दशकदेखि महिलाहरुलाई संगठित रुपमा सक्रिय गराउने हेतु भिन्नै मोर्चा बनाएर सक्रिए गराए । २०४६को परिवर्तनपछि महिलाहरुले आफ्नो अधिकारको संघर्षलाई थप व्यापक बनाए । त्यसका अरु धेरै मागहरुका अतिरिक्त पैतृक सम्पत्तिमा छोरासरह छोरीलाई अधिकार हुनपर्ने एउटा प्रमुख माग थियो । २०५२ पाmगुन १ गते जनयुद्ध शुरु गर्नुअघि तत्कालिन राज्यपक्षलाई नेकपा(माओवादी)ले बुझाएको मागपत्रको महिलासम्बन्धी बुँदामा यस्तो थियो – ‘महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनु पर्छ । छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिइनुपर्छ ।’

जनयुद्धको तयारीको क्रममा भएका देशब्यापी आसमभा, विभिन्न जागरण अभियानहरु र साँस्कृतिक कार्यक्रमहरुमा हज्जारौं महिलाहरु परिचालित भए । नेकपा (माओवादी)ले योजनावद्ध रुपमा महिलाहरुलाई आन्दोलनमा र युद्धमा परिचालन गर्ने योजना बनायो । २०५१ सालमा सो पार्टीको वैधानिक मोर्चा (संयुक्त जनमोर्चा)का अध्यक्ष पदमा महिला, पम्फा भुसाललाई मनोनित गरेर माओवादीले महिलाहरु पार्टी नै हाँक्न सक्षम भएको देखाइदियो । भुसाल सम्भवतः नेपालका कुनै राजनीतिक पार्टी (निर्वाचन आयोगमा संयुक्त जनमोर्चाका रुपमा दर्ता थियो)को प्रमुख बन्ने पहिलो महिला हुनुहुन्थ्यो । जनयुद्ध शुरु गर्नुअघि माओवादीले ‘महिलाहरुमाथि पैतृक सम्पत्तिलगायतका आर्थिक, राजनीतिक र सामाजिक जीवनका सबै क्षेत्रमा रहेका सामन्ती पितृृसत्तात्मक थिचोमिचो र भेदभाव एवं अन्धविश्वासका विरुद्ध समान अधिकार निमित्त संघर्षका नाराहरु तय गर्न दस्तावेजमै उल्लेख गरेको थियो ।

जनयुद्धको तयारीका लागि ग्रामीण भेगमा माओवादीले ‘वर्गसंघर्षको अभ्यास’ गर्न थालेपछि महिलाहरुले त्यसमा आफ्नो उपस्थिति देखाउन थालेका थिए । मध्यपश्चिम नेपालका विभिन्न जिल्लामा महिलाहरुले सैन्य तालिमहरुमा उत्साहपूर्वक भाग लिए र बन्दुक पड्काउने अभ्यास गरे । मध्यपूर्वकोे एउटा जिल्ला सिन्धुपाल्चोकको कुविण्डेमा एक जना शिक्षकलाई पक्रन गएका प्रहरीहरुलाई महिलाहरुले खेदिदिए र प्रतिरोधको एउटा इतिहास रचे । उक्त घटनापछि सो गाउँमा भएको व्यापक प्रहरी दमनमा महिला र केटाकेटीले सास्ती भोगे । दर्जनौं महिला महिनौं जेल परे तर एकजना पनि प्रहरी प्रशासनको अगाडि झुकेनन् । कुविण्डेमा महिलाको साहस र विभिन्न रुढीवादी संस्कारमा समेत परिवर्तन गर्न उनीहरुले देखाएको तत्परताका बारेमा एकजना कवि पुष्पकिरणले ‘कुविण्डे र महिला’ भन्ने शिर्षकमा लेखेको कविता यस्तो थियो –
सुनको सिक्री नपाएर अचेल रुँदैनन् महिलाहरु
अव सहनशीलताको प्रतिमूर्तिहरु हैनन् महिलाहरु
अब आँशु होइनन् महिलाहरु
मासु, मुस्कान र चुरापोते होइनन् महिलाहरु
महिला त क्रान्ति हुन, रणचण्डी र आगोका लप्का हुन्
स्वाधीन बन्ने चाहना
अब संग्राम हुन महिलाहरु
मैले जुगल हिमाललाई सोधें – को हुन महिलाहरु
जुगल मुस्कुराएर भन्छ –
प्यारा कमरेड हुन महिलाहरु
हेरन उ ‘सिन्धुपाल्चोक कुविण्डे ! ’

जनयुद्धमा सहभागिता

२०५२ मा जनयुद्धको घोषणा गर्ने क्रममा १९ जनाको केन्द्रीय समितिमा एक जना केन्द्रीय सदस्य महिला थिइन् र पूर्णकालीन भएका करिव एक सयजना अगुवा कार्यकर्ताहरुमा एक दर्जनजति महिला थिए । जनयुद्ध घोषणा गर्नै आयोजित विभिन्न प्रहरी चौकीहरुमा कारवाहीको क्रममै महिला सहभागिता भएको थियो ।

जनयुद्ध अघि बढ्दै जाँदा सरकारी दमन र माओवादीको योजना अनुसार महिलाहरु दिन प्रतिदिन जनयुद्धमा लामबद्ध हुँदै गए । खासगरी महिला र विद्यार्थी संगठनमा काम गरेका युवती पार्टीको योजनामा पूर्णकालीन हुन्थे । अन्य खासगरी पारिवारिक शोषणमा परेकाहरु थिए । कैयौं महिलाहरुले तिनका श्रीमान र परिवारविरुद्ध विद्रोह गरे र जनयुद्धको प्रक्रियामा हेलिए । प्रहरी वा सेनावाट हत्या गरिएका पुरुषका श्रीमति, अभिभावक वा दाजुभाइ गुमाएका महिला पनि आफ्ना मान्छेकाको हत्याको बदला लिन जनयुद्धमा सहभागी भए । यो अभियानमा राजनीतिक रुपमा सचेत महिलाहरु मात्र होइन सबैभन्दा उत्पीडित क्षेत्रका जस्तै थारु तथा मधेसी, दलित एवं जनजाति समुदायबाट पनि उल्लेख्य उत्साह र सहभागिता थियो ।

माओवादी जनयुद्ध यति व्यापक विस्तार हुन र महिलाहरुको सहभागिता सुनिश्चित हुनका लागि माओवादीको महिलाहरुप्रतिको वैज्ञानिक दृष्टिकोण, नीति र व्यवहार नै जिम्मेवार थियो । पुँजीवादीहरु जस्तो कम्युनिष्टहरु महिलालाई वस्तु र मनोरञ्जनको साधनका रुपमा व्यवहार गर्दैनन् बरु उनीहरुलाइै जीवनका सबै आयामहरुमा समान हिस्सेदार ठान्छन् । माओवादीको यस्तै नीति मन पराएर शिक्षा, सम्पत्ति र अवसरको मौका छोडेर ‘उत्पीडित जनताको मुक्ति’को उद्देश्य बोकी सयौं ‘हुनेखाने’ परिवार र वर्गका युवती पनि जनयुद्धमा होमिए ।
माओवादी जनयुद्धमा संलग्न भएका महिलाहरुमा अधिकांश किशोरीहरु तथा युवती थिए । यसो हुन किन पनि स्वभाविक थियो भने युवा नै बढी विद्रोही र परिवर्तनमुखी हुन्छन् । त्यसैगरी बिहेवारी गरेर ‘घर बसाइसकेका’ महिलालाई परिवार सन्तान छाडेर हिंड्न त्यति सजिलो कुरा हुँदैन जति अविवाहित युवती वा किशोरीहरुलाई हुन्छ । जनयुद्धमा सहादत प्राप्त गरेका महिलाहरुको जीवनी समेटेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले २०६२ चैत्रमा प्रकाशित गरेको ‘महिला सहिद गाथा’ नामक पुस्तक हेर्दा अधिकांश महिलाहरु वि.सं. ३०को दशकको उत्तरार्ध र ४०को पूर्वार्धमा जन्मिएका थिए जो १८ देखि २५ वर्षभित्रका थिए ।

जनसेना महिला

माओवादी जनयुद्धमा महिलाको सहभागिताको प्रभाव त्यसको सैन्य संगठनमा पनि पर्नु स्वभाविकै थियो । नेपालको पुरानै राज्यव्यवस्थाको सैन्य संरचनामा स्वास्थ्यकर्मी र कार्यालय सहयोगी बाहेक लड्ने मोर्चामा महिलालाई भर्ती लिइन्नथ्यो । त्यसकारण औपचारिक रुपमा महिलालाई सैन्य संरचनामा समावेश गर्ने नीति नेपालमा माओवादीले लियो । माथि उल्लेख गरिएजस्तै जनयुद्धअघिदेखि नै प्रतिरोध र सैन्य कारवाहीमा महिला सहभागी भए । पछि लडाकू दल र छापामार दलहरुमा महिला सदस्य तथा नेता हुँदै गए । माओवादी जनयुद्धभरि सैन्य क्षेत्रमा जिम्मेवारी निर्वाह गरेका जनसेनाका कमाण्डर नन्द किशोर पुन ‘पासाङ’द्वारा लिखित ‘इतिहासका रक्तिम पाइला’ पुस्तकमा केही प्रतिनिधिमूलक कारवाहीमा कति महिला सहभागी थिए भन्ने उल्लेख गरिएको छ ।

पासाङका अनुसार २०५६ को वैसाखमा रोल्पाको जेलवाङ गाविसमा रहेको दङ्गा प्रहरीको बेस क्याम्पमा आक्रमण गर्दा छ जना महिला एसल्टमा थिए भने रुकुमको तकसेरामा सोही सालको चैत्रमा कारवाही गर्दा २१ जना थिए । उता जाजरकोटको पाँचकटियमा आक्रमण गर्दा २५ जना महिला सहभागी थिए । २०५८ मंसिरमा दाङको सदरमुकाम घोराहीमा आक्रमण गर्दा ६८ जना महिला एसल्टमा खटिएका थिए ।
२०५८ कार्तिकमा माओवादीले देशभरिका छापामार प्रतिनिधिहरुको केन्द्रीय भेलाले आयोजना ग¥यो र औपचारिक रुपमा जनमुक्ति सेना, नेपाल गठन ग¥यो । सो केन्द्रीय भेलामा २० प्रतिशत जति महिला थिए । भेलापछि औपचारिक रुप्मा बनेको सैन्य संरचनामा केही महिलाहरुले प्लाटुन कमाण्डर र कमिसारको जिम्मेवारी पाए । विस्तारै महिलाहरु माथिल्लो ओहदामा पुग्दै गए । २०६२को उत्तरार्धतिर महिलाहरु बिग्रेड कमिसार र बिग्रेड भाइस कमाण्डरसम्म बन्न सफल भएका थिए । २०६३ मंसिर ५ मा काठमाडौंमा शान्ति सम्झौता हुँदै गर्दा देशभरिका जनसेना अस्थायी शिविरमा जम्मा भए । केही महिना पछि तिनको दर्ता हुँदा करिब ३० प्रतिशत महिला थिए । २०५८ पछि जनसेनामा महिलाहरुको अनुपात ३०–३५ प्रतिशतका बीचमा रहिरह्यो । २०६३ बैशाखमा शान्ति प्रक्रियामा आएपछि धेरै महिलाहरुको जनसेनाको जिम्मेवारीबाट राजनीतिक जिम्मेवारी लिए ।

साहस र कीर्तिमान

सामान्यतया महिलालाई कोमलता र अबलाका रुपमा लिने गरिन्छ । तर, माओवादी जनयुद्धमा यो सही होइन भन्ने पुष्टि भयो । जनयुद्धमा महिलाहरुको उल्लेखनीय सहभागिता नै आफैमा साहस थियो र कीर्तिमान पनि । अबला भनिएका महिलाहरु संघर्षको् मैदानमा जुटे, सैन्य कारवाहीहरुको अग्रमोर्चामा रहेर लडेर बलिदान दिए । जनयुद्धअघि सिन्धुपाल्चोकको कुविण्डेमा महिलाहरुले दखाएको साहसको जगमा जनयुद्ध अवधिभर कीर्तिमान थपिंदै गयो । जनयुद्धमा सबैभन्दा पहिलो माओवादीले कब्जा गर्न सफल बेथान प्रहरी चौकी आक्रमणका क्रममा मारिएका तीनजना माओवादी मध्ये एकजना महिला (दिलमाया तामाङ) थिइन । जनयुद्धको अवधिमा महिलाहरुले पुरुषभन्दा कम कायरता देखाए र हातमा गन्न मिल्नेले मात्र आत्मसमर्पण गरे । ग्रामीण भेगमा महिलाहरुले त अद्भुत साहस देखाए । ती झुक्दै झुकेनन् । तिनीहरुले बलात्कार सहे, यौन दुव्र्यवहार पचाउ र त्यसको बदला लिन युद्धमा हाम फाले वा युद्धलाई सघाए ।

२०५४को चैत्रमा कालिकोटको मालकोट गाउँमा अपरेशनका लागि गएको प्रहरीको टोलीले महिलालाई दुव्र्यवहार गर्न थालेपछि महिलाहरुले त्यसको प्रतिकार गरे र प्रहरीलाई खेदे । महिलाको खेदाइमा केही प्रहरी भीरबाट लडेर मरे । महिलाले तिनका राइफल कब्जा गरे र माओवादीलाई बुझाइदिए । तर दुर्गम कालिकोटको उक्त अद्वितीय घटनाले त्यति राम्रो प्रचारप्रसार भने पाएन । त त्यो घटना नेपालका ग्रामीण भेग र दुर्गम क्षेत्रका महिलाहरुको साहसको परिचय थियो ।

माथि चर्चा गरिएजस्तै जनसेनामा लाबद्ध भएर २० हजारभन्दा बढी महिलाले युद्ध लडे । लडाईमा पनि अग्रमोर्चामा पुगेर तिनले प्रहरी र सेनालाई पराजित गरिदिए । यो आफैमा कीर्तिमान थियो । युद्धमा सबैभन्दा बढी पीडित महिला र केटाकेटी नै हुन्छन् । यो सार्वभौम यथार्थ हो । नेपालको जनयुद्ध त्यसको अपवाद हुन सक्दैन्थ्यो । जनयुद्धको क्रममा झण्डै चार हजार विधवा भए । हजारौं गिरफ्तार भए र सयौं अझै बेपत्ता छन् । जनयुद्धमा ज्यान गुमाउनेमध्ये नौजना माओवादीको भगिनी मोर्चा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय पदमा बहाल रहेकै अवस्थामा मारिएका थिए । जनयुद्ध अवधिभरमा झण्डै २५सय महिलाले आफ्नो जीवन गुमाए ।

महिलाका साहसका कथा यतिमै सकिंदैनन् । जनयुद्धको अवधिमा महिलाहरु संगठित रुपमा जेल तोडेर बाहिर निस्कन सफल भए । २०५७ सालमा गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारमा रहेको कारागारमा बन्दी रहेका बेला उमा भुजेल, मीना मरहठ्ठा, कल्पना नहर्की, रिता विक, एञ्जिला विक र सञ्जु अर्यालले जेलभित्रबाट बाहिरसम्म निकास हुने गरी सुरङ खनेर स्वतःस्फूर्त रुपमा जेल तोडेर बाहिर निस्केका थिए । सम्भवतः संगठित रुपमा महिलाहरुले जेल तोडेको विश्वकै अति विरलाकोटी घटना हो यो । यसले जनयुद्धको अवधिमा महिलाको परिचयलाई बदल्न ठूलो भूमिका खेल्यो । जेल तोडेर निस्किएकामध्ये दुई जना मिना मरहठ्ठा र एञ्जिला विक पछि जनयुद्धको क्रममा सरकारी फौजबाट मारिए ।

१० वर्षपछिको परिवर्तन

राजनीतिक आन्दोलन र क्रान्तिमा महिलाको उत्साहजनक सहभागिता आफैमा एउटा उपलब्धि हो । महिलाहरुले देखाएको रणकौशल, लगनशीलता, साहस बलिदान पनि एक उपलब्धि हो । महिलाहरुले उनीहरुमाथि लाग्दै आएको अबला र कायरको आरोपलार्ई असत्य सावित गरिदिए र महिलाको छुट्टै पहिचान बनाए । हुन त यो समयको पनि प्रभाव थियो, तर जनयुद्धमा महिलाको सहभागिताले कैयन अन्धविश्वासपूर्ण परम्पराको अन्त्य भयो । महिलाहरुको लवाइ खुवाइ, भेषभूषा, चुार, पोते एवम् अन्य अवैज्ञानिक परम्पराको परिवर्तन भयो । यसले खासगरी ग्रामीण भेगमा तीव्र उथलपुथल ल्याइदियो । उदाहरणका लागि ग्रामिण भेगका महिलाको भेषभूषाकै कुरा गर्दा पनि लुङ्गी, चोलो, फरियाजस्ता अप्ठ्यारा पहिरनहरुको सट्टा कुर्ता सलवार, सर्ट पाइण्ट नै लगाउन थाले जो सजिला र सुरक्षित थिए ।

साथसाथै उनीहरुको आत्मविश्वासमा पनि बढोत्तरी भयो । गाउँका महिलामा देखिएको आत्मविश्वास, राजनीतिक चेतना र साहस देखेर शहर एवम विदेशबाट गएका संचारकर्मी तथा बुद्धिजीविहरु दंग पर्थे । त्यसैगरी विभिन्न संस्कारहरुमा पनि परिवर्तन हुृँदै गइरहेको थियो । ग्रामीण भेगमा श्रीमान मारिएपछि जिन्दगीभर सेतो वस्त्र लगाएर बस्ने महिलाविरोधी परम्पराको अन्त्य हुँदै थियो । अमेरिकी पत्रकार ली अनेष्टोले २०५६ सालमा नेपालका माओवादी प्रभावित क्षेत्रहरुमा भ्रमण गर्दा देखेका महिलाको स्थितिलाई आफ्नो पुस्तक ‘डिस्प्याचेज फ्रम द पिपल्स वार इन नेपाल’मा यस्ताृे उल्लेख गरेकी छिन –

क्रान्तिले महिलाहरुमाथि उत्पीडन गर्ने थुपै्र परम्पराहरुलाई हाँक दिइरहेको छ । उदाहरणका लागि छोराहरुलाई अति महत्व दिने, महिनावारी हुँदा छुन नहुने जस्ता व्यवहार गरिने, विधुवाहरुले बाँक्ी जीवन पुरै शोकमा विताउनु पर्ने परम्परामाथि चुनौती दिँदैछ । मैले लोग्नेहरु जनयुद्धमा मारिएका धेरै महिलाहरुले रातो लुगा, चुार र पोते लगाएको देखेकी छु, जुन वस्तु लगाएर श्रृंगार गर्नु विधुवा महिलाहरुलाई समाजमा प्रतिबन्ध छ । क्रान्तिले कतिपय परम्परागत चाडर्वलाई पनि फेर्न कोशिस गर्दैछ ।

जनयुद्धको क्रममा महिलाहरुले छोरासरह छोरीले अधिकार पाउने प्रावधानलाई सुनिश्चित गराए । २०६० सालमा तत्कालीन माओवादी सत्ताअन्तर्गत सार्वजनिक कानुनी संग्रह–२०६०ले महिलालाई पुरुषसरह सम्पत्तिमाथि अधिकार सुनिश्चित गराइदियो । यसलाई महिला संगठनले व्यवहारमा लागू गर्न संघर्ष गरे । २०६१ मा माओवादीको स्थानीय सत्ता चलेका ठाउँहरुमा कयौं अभिभावकले आफ्ना छोरीहरुलाई छोरा सरह अंश दिने निर्णय गरे । त्यसको निरन्तरतामा शान्ति सम्झौता हुनुअघि २०६३ कार्तिक २२ गते भएको उच्चस्तरीय राजनीतिक सहमतिमा महिलाहरुले पुरुषसरह पैतृक सम्पत्तिमा अधिकार पाए जसको दुई महिनापछि अन्तरिम संविधानमा ग्यारेण्टी भयो ।

जनयुद्धका क्रममा जनसेनामा महिला जनसहभागिता भएपछि तत्कालीन शाही सेनाले २०६१ पछि महिलाहरुलाई पनि लड्न फौजका रुपमा भर्ती गर्न थाल्यो । कुनै दुविधाविना भन्न सकिन्छ, यो माओवादी जनयुद्धको नै देन थियो । तर यति लामो र तीव्र उथलपुथलकारी क्रान्तिमा नेतृत्व तहमा महिलाहरुको पहुँच असाध्यै न्यून हुन गयो । जनयुद्ध सुरु गर्नुअघि केन्द्रीय समितिमा एकजना केन्द्रीय सदस्य थिइन र शान्ति सम्झौता हुँदा झण्डै ११ वर्ष पछि माओवादी केन्द्रीय समितिमा एक जना थपिएर केवल दुई जना मात्र महिला भए । जनयुद्धमा महिलाको सहभागिताको अनुपातमा नेतृत्व विकास हुन नसक्नु सम्भवतः जनयुद्धको ठुलो कमजोरी हो ।

नेपालमा महिलाले बन्दुक छोएमा त्यो बन्दुक पड्किंदैन भन्ने अन्धविश्वास थियो । तर झण्डै ११ वर्ष लामो जनयुद्धको क्रममा महिलाहरुले बन्दुक पड्काए र उक्त अन्धविश्वासलाई च्यातच्युत पारिदिए । निःसन्देह नालापानी युद्धपछि लडाकूका रुपमा महिलाको उल्लेखनीय सहभागिता भएको माओवादी जनयुद्ध नै हो । यसरी महिलाले गरिव देशका नारीहरु राजनीतिक रुपमा सचेत हुन सक्छन् भनेर विश्वलाई प्नि देखाइदिए । उनीहरुले कीर्तिमान खडा गरे र इतिहास रचे ।

दिपक सापकोटाद्वारा लिखित ‘उथलपुथलका दशवर्ष’ पुस्तकबाट