डोटी, फागुन २४ । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन न्यून मात्रामा पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए ।
निकुञ्जमा बाहृय पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेको छ ।आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेश व्यवस्था गरिएको छ भने बाहृय पर्यटकबाट प्रतिव्यक्ति ३ हजार ३ सय ९० का दरले भ्रमण शुल्क लिने गरिएको छ । निकुञ्जमा चालु आवको सात महिनामा दुई लाखभन्दा बढी राजश्व संकलन भएको छ ।
खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जनावरसमेत हेर्न सकिन्छ । यहाँ त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । निकुञ्जको संरक्षणका लागि चारवटा ठाउँमा इलाका कार्यालय रहेको छ ।
जेठको महिनामा दशहरा मेला तथा भदौको जनैपूर्णिमाका दिन भने भव्य जात्रा यस क्षेत्रमा भव्य जात्रा लाग्दछ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्छ ।
चोरी शिकारी रोकिएन
खप्तड राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी शिकारी तथा काठ तस्करी रोकिएको छैन । चोरी निकासीलाई न्यून गर्न खप्तडमा नेपाली सेनाले गस्ती गर्ने गरेको भए पनि वन्यजन्तु र काठ चोरी नरोकिएको सहायक संरक्षण अधिकृत शाहीले बताए ।
चारवटा क्षेत्रमा इलाका कार्यालयमार्फत चोरी निकासी रोकथामको प्रयास गरिँदै आएको छ । निकुञ्जमा सिसी क्यामरासमेत जडान गरिएको छ । निकुञ्जभित्र रहेका जनावरको अवस्था र उनीहरूको अध्ययन तथा अवलोकन गर्नका लागि सिसी क्यामरा निकै सहयोगी बनेको छ ।
निकुञ्जभित्र रहेका बाघ, चितुवा, मृग, घोरललगायत जनावरको चोरी शिकारी तथा उक्त क्षेत्रमा रहेका काठ तस्करी रोकथामका लागि २४ वटा सिसी क्यामरा जडान गरिएको छ ।