काठमाडौं, फागुन २२ । सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेड्रिङ कर्पोरेशनले ७३ करोड ९३ लाख कूल मुनाफा आर्जन गर्न सफल भएको छ । कर्पोरेशनको ५१ औं स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ८ अर्ब ५८ करोडको कारोवार गरिएको जानकारी दिइएको छ । कर्पोरेशनले गत वर्ष भन्दा यस वर्ष ६१ करोड २४ लाख मुनाफा आर्जन गर्दै कूल मुनाफा ७३ करोड ९३ लाख पु¥याउन सफल भएको हो । कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून मुनाफा लिएर कारोबार भईरहेको बताए ।
कर्पोरेशनले पूँजीको अभावमा व्यापार, व्यवसायको दायरा बढाउन नसकिएको पनि स्पष्ट पारेको छ । कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पूँजीको अभावमा भएका कारण व्यापार, व्यवसायको दायरा बढाउन नसकिएको बताए । उनले सरकारको निर्देशन अनुसार अत्यावश्यक बस्तुहरुको विक्रीवितरण गर्दै लैजाने योजना पनि सुनाए ।
कर्पोरेशनले खाद्य सुरक्षा अन्तरगतको कामलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने तयारी पनि गरेको छ ।
खाने नुन नै कर्पोरेशनको मुख्य कारोबार हो । पेट्रोलियम पदार्थ विक्री गर्ने कर्पोरेशनले योजना बनाएपनि अझै लागू गर्न सकेको छैन । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने अनुमति आयल निगमबाट लिएको भन्दै चाँडै संचालनमा आउने जानकारी दिए ।