भोलिदेखि साझाको ‘सेमी लो फ्लोर’ बस चल्दै, रात्रिसेवा समेत दिने

भोलिदेखि साझाको ‘सेमी लो फ्लोर’ बस चल्दै, रात्रिसेवा समेत दिने

काठमाडौं, फागुन २२ । भोलि, २३ फागुनदेखि साझा यातायातले मुलुकमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस चलाउने भएको छ ।

चालक सहित ४१ सिट क्षमताको उक्त बस लगनखेल पाटन अस्पताल, थापाथली, त्रिपुरेश्वर, वीर अस्पताल, लैनचौर, महाराजगञ्ज हुँदै गंगालाल अस्पताल बाँसबारीसम्म चल्नेछ ।

चढ्न र ओर्लन सजिलो भएको कारणले अशक्त र बिरामीलाई केन्द्रित गरी अस्पताल धेरै भएको रुटमा चलाउन लागिएको साझा यातायातका निमित्त कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

बसले बिहान ६ बजेदेखि राति १०ः३० सम्म सेवा दिनेछ । यो बसमा बस स्टपको जानकारी दिने ‘अनाउन्समेन्ट सिस्टम’ समेत राखिएको छ । जसले बस कहाँ र कुन स्टपमा पुग्यो भन्ने जानकारी दिनेछ ।

बसमा फराकिलो ढोका रहेको छ । जसको माध्यमबाट सजिलै ह्वीलचियर समेत चढाउन सकिन्छ । भित्र फराकिलो ठाउँ भएको कारणले ह्वीलचियरमै बेल्ट बाँधेर बस्न सकिने पाण्डेयले जानकारी दिए ।