खाडी मुलुक जाने कामदारलाई क्रेडिट कार्डले थप्यो सास्ती, थपियो आर्थिक भार

प्रकाशित मिति : २०७४ फाल्गुन १८

काठमाडौं, फागुन १८ । साउदी अरब, ओमन र बहराइन जाने कामदारलाई मेडिकलका नाममा थप सास्ती सिर्जना गरिएको छ । अब यी देश जाने कामदारले मेडिकलका लागि अनलाइन आवेदन भरेर क्रेडिट वा मास्टर कार्डमार्फत शुल्क भुक्तानी गर्नुपर्नेछ ।

गल्फ कर्पोरेशन काउन्सिल (जीसीसी)ले नयाँ नियम लागू गर्दै गाम्का नेपाल बन्द गराएको छ । नेपालसिहत इन्डोनेसिया र श्रीलंकाको गाम्का संस्था खारेज गरेको हो ।

अब साउदी अरब, ओमन र बहराइन जाने कामदारले अनलाइनमा आवेदन भरेर त्यसैका आधारमा तोकिएका मेडिकलमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्नेछ ।

अब कामदारले स्वास्थ्य परीक्षणका लागि अनलाइनको ‘बुक योर एपोन्टमेन्ट’ मेनुमा विवरण भरेर जीसीसी स्लिप जेनरेट गर्नुपर्छ । त्यसबाटै आफूलाई पायक पर्ने मेडिकलमा एपोन्मेन्ट लिनुपर्नेछ । कतिपय अवस्थामा सिस्टमले नै मेडिकल छान्नेछ ।

यो एपोन्टमेन्ट लिन अनलाइनबाटै जीसीसीलाई रजिष्ट्रेशनका बापत १० डलर भुक्तानी गर्नुपर्छ । यसले काकदारलाई थप आर्थिक भार थप्नेछ । अहिले गाम्का अन्तरगत ११ वटा मेडिकल छन् । यि मेडिकलमा कामदारले ५५ सय रुपैयाँ तिरिरहेका छन् ।

गाम्काले झण्डै १८ महिनाअघि देखिनै थप १० डलर उठाउन खोजेको थियो । तर, सरकारले कामदारलाई आर्थिक भार सिर्जना गर्ने गरी थप १० डलर लिन गाम्कालाई अनुमति दिएको थिएन । राष्ट्र बैंकले यसरी संकलित रकम विदेश लैजान नदिने भनेपछि जीसीसीले अनलाइनबाटै रकम बुझ्ने व्यवस्था लागू गरेको हो ।

म्यानपावर व्यवसायीले भने सरकारको स्वीकृति बेगर यस्तो व्यवस्था लागू गर्दा कामदार मर्कामा पर्ने बताएको छ । अहिले विदेशिने कामदारले डेबिटरक्रेडिट कार्डमार्फत भुक्तानी गर्न सक्ने अवस्था छैन । कमाउन जान लागेका कामदारलाई जीसीसीले अनावश्यक झन्झट सिर्जना गरिदिएको छ ।

यि तीनदेशमा जाने नेपालीको संख्या ठूलो छ । मेडिकलमा नाममा अहिले विदेशिने कामदारलाई अनावश्यक आर्थिक भार सिर्जना गर्न रोजगारदता देश अग्रसर भएका छन् ।

युएईले स्वास्थ्थ परीक्षणका नाममा ४ हजारभन्दा बढी रजिष्ट्रेसन शुल्क उठाउँछ भने अब कतारले पनि यस्तै रकम उठाउने संस्था स्थापना गर्न लागेको छ ।