महेन्द्रनगर, फागुन १८ । भारतीय नम्बर प्लेटको जीपको ठक्करबाट एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले महेन्द्रनगर बजार बन्द गराएका छन् । महेन्द्रनगर बजार बन्द गराउनुका साथै यातायात सेवा समेत ठप्प पारिएको छ । मृतकका आफन्त बिहानैदेखि हातमा लाठीसहित बजार बन्द गराउन हिंडेका थिए ।
कञ्चनपुर सदरमुकाम पूर्ण रुपमा बन्द गराइएको छ । महिला, पुरुष तथा बालबालिका समेत ठूलो संख्यामा बजारमा लाठीसहित प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बाहिर धर्ना समेत दिइरहेका छन् ।
मृतकका आफन्तले दोषी चालकलाई कारवाही र उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने अडान लिएका छन् । मृतकको शव घट्नास्थलमै रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतकका आफन्त र प्रहरी प्रशासनबीच अहिले जिल्ला प्रशासन कार्यालयमा बार्ता भइरहेको छ । बिहीबार राति महेन्द्रनगर–गड्डाचौकी सडकखण्डको बनगाउँमा युके ०३–७१०१ नम्बरको भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा भीमदत्त नगरपालिका ६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको हो ।
ठक्करबाट चन्दको घटना स्थलमै मुत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएपी ज्ञानबहादुर सेटीले जानकारी दिए । ठक्कर दिए लगत्तै जीपका चालक महेन्द्रनगरतर्फ आएर शिव मन्दिर क्षेत्रमा गाडी छाडेर भागेका थिए । प्रहरीका अनुसार ठक्कर दिने जीप प्रहरीले नियन्त्रणमा राखेको छ ।
प्रहरीले ठक्कर दिने चालकको खोजीकार्य भइरहेको जनाएको छ । यसैबीच आक्रोशित मृतकका आफन्तले बन्दको अबज्ञा गरेको भन्दै केही सवारी साधनमा तोडफोड समेत गरेका छन् । उनीहरुले महेन्द्रनगर बसपार्क नजिकै रहेको यूएसपी बझाङ्ग होटलको काउन्टरमा तोडफोड गरेका छन् । बन्दका समयमा होटल खोलेको भन्दै तोडफोड गरेका हुन् ।
होटल सञ्चालकले भने जानकारी नदिइकनै आएर होटलमा युवाले तोडफोड गरेको बताएका छन् । सवारी साधन नचलेपछि विभिन्न गन्तव्यमा हिडेका यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् ।