क्षतिपूर्तिको माग गर्दै माइतीघरमा सडक विस्तार पीडितको प्रर्दशन

क्षतिपूर्तिको माग गर्दै माइतीघरमा सडक विस्तार पीडितको प्रर्दशन

काठमाडौं, फागनु ९ । सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाका पीडितहरुले आफूहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

सडक विस्तारपछि उचित क्षतिपूर्तिको व्यवस्था नगरिएको भन्दै उनीहरुले बुधबार माइतीघर मण्डलामा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै नयाँ सरकारलाई पनि दबाब दिन सुरु गरेका हुन् ।

नयाँ सरकारले पनि आफूहरुको माग सम्बोधन नगरे कडा संघर्षमा जान बाध्य हुने काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीले चेतावनी दिए ।

उचित विकल्प तयार नभई सडक विस्तारको नाममा आफूहरुको बास समेत उठाएको भन्दै पीडितहरुले विगत २ वर्षयता सरकारविरुद्ध संघर्ष गर्दै आएका छन् । उनीहरुले नगर विकास प्राधिकरणले कामै नगरेको भन्दै तत्काल खारेज गर्न पनि माग गरे ।

दवाव अभियानमा सहभागी वृद्धवृद्धाहरुले आफूहरुलाई बुढेसकालमा घरबारविहीन बनाएकाले सरकारविरुद्ध संघर्ष गर्नुपरेको बताएका छन् । स्थानीय नेताहरुले समेत आफूहरुलाई दुःख दिने गरेको पीडितको गुनासो छ ।

सडक विस्तार गरेपनि त्यसको उचित क्षतिपूर्ति नपाएपछि काठमाडौं उपत्यकाबासीले सरकार विरुद्ध संघर्ष गर्दै आएका हुन् ।

उनीहरुले संवैधानिक व्यवस्था अनुसार पनि बास बस्न पाउने नागरिकको हक खोस्ने अधिकार कसैलाई पनि नरहेको दावी गर्दै उचित क्षतिपूर्तिका व्यवस्था गर्न माग गर्दै आएका छन् ।