यसपटको २३ औं जनयुद्ध दिवश क्रान्तिकारी माओवादीले दशैभर भव्य रुपमा मनायो । कतिपय ठाउँमा नेकपासँग संयुक्त रुपमा पनि मनायो । फाल्गुन १ नेपाली सर्वहारा वर्ग र आम उत्पीडित जनसमुदायको एक ऐतिहासिक दिन हो । सदिऔंदेखि नेपाली सर्वहारा वर्गको राजनीतिक पार्टीद्वारा योजनावद्ध र सचेत रुपमा शासकहरुको नामोनिशाना मेटाइदिने हाँक दिइएको दिन । यसर्थ यो दिन नेपाली श्रमजीवी आम उत्पीडित वर्गका लागि इतिहासमा बारम्बार स्मरणीय एवं उल्लास भाव पैदा गरिरहने गौरवपूर्ण दिन हो ।
सदियौंदेखि नेपाली समाजलाई आन्तरिक रुपमा सामन्तवादी आर्थिक, सामाजिक र सांस्कृतिक उत्पीडनले गाँजीरहेको थियो भने बाह्य रुपमा भारतीय विस्तारवादी हैकमले उठ्न नसक्ने गरी थिचिरहेको थियो । सामन्तवादी र विस्तारवादी दुई ठूला पहाडले थिलथिलो अवस्थामा पुगेको नेपाली समाज अशिक्षा र गरिबीको भूमरीमा फसिरहेको थियो । सामन्तवादी उत्पीडनले जरो गाडेकोले देशमा आर्थिक रुपले धनी र गरिब बीच सामाजिक रुपले, भूगोलका दृष्टिले विकसित र अविकसित क्षेत्रहरुका बीच निकै ठूलो विभेद बढिरहेको थियो । समाजमा आर्थिक, समाजिक, सांस्कृतिक र भाषिक रुपले निकै ठूलो असुरक्षाको वातावरण व्याप्त थियो । ०४६ सालको राजनीतिक परिवर्तनले पनि श्रमिक जनसमुदायको जीवनमा बदलाव ल्याउनुको साटो शोषणको नयाँ रुपद्वारा जनतामाथि लुटपाट र विभेद जारी रह्यो । समाजमा जारी सामन्ती उत्पीडनको सबभन्दा चर्को मार समाजका आर्थिक रुपले सबभन्दा विपन्न वर्गले खेपिरहेको थियो । खासगरी दलित, महिला, मधेशी, मुस्लीम र जनजातिहरु राज्यसत्ताबाट उपेक्षित थिए तर त्यसमा पनि आर्थिक रुपले सम्पूर्ण अधिकार खोसिएका महिलाहरुको अवस्था सबभन्दा बढी दयनीय थियो । सभ्य समाजमा सामाजिक कानुनी मान्यता पाएको शैक्षिक अधिकार जस्तो नैसर्गिक अधिकारबाट महिलाहरु बन्चित थिए । दशवर्षे जनयुद्धका बाबजुद आर्थिक रुपले आजसम्म पनि परनिर्भरताको अवस्था कायम छ ।
महिलाहरुको सम्पूर्ण स्वत्व पुरुषको काबुमा थियो । उपेक्षित जाति जनजातिहरु मधेशी, मुस्लीम, दलित, महिलाहरुको आफ्नो स्वतन्त्र पहिचान गुमेको अवस्था विद्यमान रहेको अवस्थामा तत्कालिन नेकपा (माओवादी) ले ०५२ साल फागुन १ गतेबाट उद्घोष गरेको जनयुद्धको सम्पूर्ण श्रमजीवी, उत्पीडित वर्ग र समुदायमा अधिकार र स्वत्वको चेताना फैलायो । जीवनमा दुःखी हुनुको दोष भाग्य नभएर नीति निर्माणको तहमा बसेर देश चलाउनेहरु हुन् भन्ने कुरा स्थापित गरेर जनतालाई आफ्ना शत्रुहरुको पहिचान खुलाइदियो । जसको परिणाम दिन दुगुणा रात चौगुणा जनताको बीचमा माओवादी पार्टी लोकप्रिय बन्दै गयो । हजारौं हजार मान्छेहरु सामन्ती साङलाहरु तोडेर आफ्नो स्वतन्त्र पहिचान र मुक्तिका लागि जनयुद्धमा सामेल भए । आफ्नो वर्ग र पहिचान र मुक्तिका लागि जनयुद्धमा सामेल भए । आफ्नो वर्ग र समुदायको मुक्तिको सवाललाई हजारौं मान्छेहरुले आफ्नो जीवनभन्दा प्यारो बनाए । सामन्तवाद र विस्तारवादको जन्जीरबाट मुक्तिका लागि सिंगो देश एकढिक्का भयो । जसको फलस्वरुप सामन्ती राज्यसत्ता आफ्ना हज्जारौं दुस्साहशिन हतकण्डाका बावजुद जनताको तागतका अगाडि टिक्न सकेन र अन्ततः पराजित भयो ।
इतिहासको विडम्बना हज्जारौं हजार सपूतहरुको उदात्त भावनासहितको वलिदानले जन्माएको लोकतान्त्रिक गणतन्त्र फेरि पनि उही दलाल नोकरशाहहरु, सामन्त र जमिन्दारहरुकै कब्जामा परेको छ । महान जनयुद्धको मूल नेतृत्वले दलाल, सामन्तरुको हातबाट सत्ता पूर्णरुपले छिनेर लिने साहस गर्नुको साटो तिनका सामु खुट्टा कमाउँदा महान जनयुद्धले सेटब्याक खानु परेको छ । सत्तामा प्रतिक्रान्तिकारीहरु हावी छन् । श्रमिक जनसमुदायको चेतनामा बाहेक जीवनमा आधारभूत परिवर्तन आउन सकिरहेको छैन । देशमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा (विचौलिया) दलाल प्रवृत्ति हावी भएको छ । बेरोजगारी व्याप्त छ । यसको व्याख्या यहाँ गरिरहन सायद आवश्यक पर्दैन । जनतामा देशको स्थिति छर्लङ्ग छ । क्रान्ति पराजित भएको यो बेलामा महान् जनयुद्धको महत्वलाई न्यूनीकरण गर्न र यसको महत्वलाई सिध्याउनका लागि यसका एकाध नकारात्मक पक्षहरुलाई उचालेर यसको महानतामाथि प्रहार गर्ने कोशिस भईरहेको छ । खबरदार ! जनयुद्धका महान पक्षधरहरुलाई ओभेलमा पार्ने तिम्रा सबै हथकाण्डहरु निष्फल सावित हुनेछन् । जनयुद्धको हारबाट आत्मरति लिने तिम्रा सपनाहरु तुहिनेछन् । यो आत्मरति क्षणिक हुनेछ र अन्ततः जनयुद्धको विजय हुनेछ । सम्पूर्ण क्रान्तिकारीहरु एकढिक्का भई फेरि क्रान्तिको मसाल बाल्नेछन् र दशवर्षे महान जनयुद्ध, ती महान वीर वीरङ्गनाहरुका सपना साकार भइछाड्ने छन् । महान् जनयुद्धको उद्घोष भएको २३ औं बार्षिकोत्सवको ऐतिहासिक घडीमा क्रान्तिप्रतिको संकल्पका साथ क्रान्तिकारीहरुले दृढविश्वासका साथ उद्घोष गरौं– महान् जनयुद्ध जिन्दावाद–जिन्दावाद–जिन्दावाद !!!





























