देशैभर क्रान्तिकारी माओवादी र नेकपाले संयुक्त रुपमा मनाउँदै २३ औं जनयुद्ध दिवस

देशैभर क्रान्तिकारी माओवादी र नेकपाले संयुक्त रुपमा मनाउँदै २३ औं जनयुद्ध दिवस

काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २३ औं जनयुद्ध दिवस संयुक्त रुपमा मनाउँदैछन् । यी दुई पार्टीका शीर्ष नेतृत्वबीच भएको बैठकले संयुक्त रुपमा जनयुद्ध दिवस र फाल्गनु १४ देखि २१ सम्म सहिद सप्ताह मनाउने सहमति गरेपछि आज अर्थात् फाल्गनु १ गते देशैभरका अधिकांश जिल्लामा संयुक्त रुपमा जनयुद्ध दिवस मनाउने कार्यक्रमहरु भइरहेका छन् ।

प्राप्त समाचार अनुसार दुवै पार्टीको केन्द्रीय समितिको अयोजनामा काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रियसभा गृहमा दिउँसो १ बजे विशेष कार्यक्रमको अायोजना गरिएको छ । यो कार्यक्रमलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले सम्बोधन गर्ने बताइएको छ । दुवै पार्टीका उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर यसै कार्यक्रममा सरिक हुनेछ भने उपत्यका बाहिरका जिल्लाहरु मकवानपुर, दैलेख, नवलपरासीलगायतका जिल्लाहरुले संयुक्त वक्तव्य नै जारी गरी जनयुद्ध दिवस संयुक्त रुपमा मनाउने बताइसकेका छन् भने अन्य ७ वटै प्रदेशका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमहरु गरी संयुक्त रुपमा जनयुद्ध दिवस मनाउने कार्यक्रम तय गरिएको क्रान्तिकारी माओवादीका प्रदेश सचिवहरुले जानकारी दिएका छन् ।

यी दुई पार्टीबीच नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने गरी पार्टी एकताको प्रक्रियालाई टुंग्याउने विषयमा निरन्तर छलफल हुँदै आएको छ । देशीविदेशी प्रतिक्रियावादी, नवसंशोधनवादी तथा अवसरवादी र विसर्जनवादीहरुले क्रान्तिकारीहरुका विरुद्ध घेरा कसिलो बनाएर लगिरहेको पृष्ठभूमिमा सबै कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता र क्रान्तिको तयारी आवश्यकता र बाध्यताको विषय बन्दै गएको छ । यही पृष्ठभूमिमा नेकपा (क्रान्तिकारी माओवादी)ले सबैतिर छरिएर रहेका क्रान्तिकारीहरुलाइै गोलबन्द गर्न नेतृत्वदायी पहलकदमी लिइरहेको छ ।