यस पटकको २३ औं जनयुद्ध दिवस मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रुपमा देशैभर मनाउँदै छन् । जनयुद्धको २३ औं दिवस मनाउँदै गर्दा यी दुई पार्टीले नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने उद्घोष गर्ने अपेक्षा क्रान्तिकारी पंक्तिले गरिरहेका छन् । यी दुई पार्टीबीच कार्यगत एकता हुँदै पार्टी एकतासम्मको कोर्स अगाडि बढिरहेको सन्दर्भमा यस्तो अपेक्षा गरिनुलाई स्वभाविक र आवश्यक दुवै रुपमा लिन सकिन्छ ।
रणनीतिक प्रत्याक्रमणको दोस्रो चरणसम्म पुगेको तत्कालीन जनयुद्ध नेतृत्व(प्रचण्ड–बाबुराम)ले गरेको धोका र गद्दारीको कारण असफल हुन पुग्यो । फलतः सात डिभिजनको जनमुक्ति सेना, क्रान्तिकारी आधार इलाका, क्रान्तिकारी जनसत्ता लगायतका जनयुद्धका महान् उपलब्धिहरु विघटित र विसर्जित हुन पुगे र तत्कालीन माओवादी आन्दोलन पनि टुटफुट र विभाजित हुन पुग्यो । जनयुद्धको ठूलो हिस्सा दक्षिणपन्थी अवसरवाद तथा नवसंशोधनवाद हुँदै प्रतिक्रियावादमा पतन हुन पुग्यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको यो हिस्सा माओवादी केन्द्रको नाममा संसदवादको मतियार हुन पुगेको छ । त्यसले जनयुद्धले अगाडि सारेका सबै उद्देश्य र एजेण्डाहरु परित्याग गर्दै माक्र्सवाद, लेनिनवाद र माओवादका पथप्रदर्शक सिद्धान्तहरुबाट सम्बन्ध विच्छेद गर्दै प्रतिक्रियावादी कित्तामा पुगेको छ । वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादी यो समूह अहिले क्रान्तिकारी शक्तिहरुको विरुद्ध खुलेर लागेको छ । अहिले कांग्रेस, एमाले र माओवादी केन्द्रबीच वैचारिक राजनीतिक भिन्नता मेटिन् पुगेको छ ।
यसको ठीक उल्टो प्रचण्ड–बाबुरामको वर्गीय तथा राष्ट्रिय आत्मसर्मपणवाद, नवसंशोधनवाद, विसर्जनवाद तथा संसदवादको विरुद्ध विद्रोह गर्दै क्रान्तिको झण्डा बचाउन सफल मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीले १० वर्षे महान जनयुद्धका लक्ष्य तथा एजेण्डाहरुलाई अगाडि बढाउँदै मुलुकमा फेरि नयाँ जनवादी क्रान्तिको आवश्यकता र सम्भव दुबै रहेको ठहर गर्दै नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्नका लागि आवश्यक पर्ने क्रान्तिकारी पार्टी, क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी जनमुक्ति सेनाको निर्माणको तयारीमा जुटेको छ । विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई एकीकृत र धु्रवीकरण गर्ने अभियानको थालनी गरेको छ । यहि क्रममा विप्लव, ऋषिराज कट्टेल र मसाल समूहसँग कार्यगत एकता गर्ने सहमति गरेको छ । क्रान्तिकारी माओवादी र नेकपा (विप्लव) बीच फागनु १ को जनयुद्ध दिवस र फागुन १४ देखि २१ सम्मको शहीद सप्ताह संयुक्त रुपमा मनाउने सहमति भएको छ ।
जनयुद्धका २३ औं वर्षगाँठको पूर्वसन्ध्यामा यी दुई पार्टीवीच भएको कार्यगत एकतालाई जनयुद्धका शहीद तथा वेपत्ता परिवार घाइते योद्धाहरु आम क्रान्तिकारी पंक्ति तथा क्रान्तिका पक्षधर जनताले सकारात्मक रुपमा लिएका छन् र यसले नयाँ उत्साह पैदा गरेको छ । दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्थाको अन्त्य गरी जनवादी व्यवस्थाको स्थापना गर्ने उद्देश्य राखेर १० वर्षे जनयुद्ध भएको थियो । आज २३ औं जनयुद्ध दिवस मनाउँदै गर्दा त्यही उद्देश्य हासिल गर्न तथा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु हल गर्न नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढ्ने संकल्प सबै क्रान्तिकारीहरुले गर्न जरुरी छ । यही संकल्प गर्नु नै जनयुद्ध दिवस मनाउनुको सार्थकता हो ।