
घोराही, २० माघ २०७४ । नेकपा (क्रान्तिकारी माओवादी)का नेता परी थापाले माओवादी केन्द्र र एमालेले कम्युनिस्टका नाममा जनतामा भ्रमको खेति गरेको कुरा बताउनु भयो । सो कुरा आज आयोजित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको दाङ जिल्ला भेलालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्ने क्रममा बताउनु भएको हो । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देजमो केन्द्रीय सचिव समेत रहेका थापाले बाम गठबन्धनका नाममा बन्ने सरकारले स्थायित्व, विकास र समृद्धि दिन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले अगाडि भन्नुभयो ‘प्राकृतिक सम्पदा विक्री गरेर, युवालाई विदेश पलायन गराएर, नव उदारवादी आर्थिक योजना लागू गरेर र वैदेशिक भिख मागेर समाजवाद आउँदैन ।’
अर्का वक्ता नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज हिरामणि दुःखीले पार्टीले सञ्चालन गरेको तीन महिने अभियानमा सक्रियतापूर्वक सहभागी हुन देजमो कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले बाम गठबन्धनको भ्रममा परेका जनतामा आफ्नो पार्टीको एजेण्डा लिएर जान विशेष जोड दिनुभयो । ‘तीन महिने अभियानको उद्देश्य क्रान्तिको कार्यभार पूरा गर्न सङ्गठनलाई मजबुद पार्नु रहेको हो’ दुःखीले भन्नुभयो ।
उक्त भेलालाई थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामजी थारु र अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य सुशिला आचार्यले शुभकामना दिनुभएको थियो ।
मोर्चाका जिल्ला संयोजक तथा केन्द्रीय सदस्य यमबहादुर शाहको अध्यक्षता तथा सचिव ईश्वरी प्रसाद गैरेको सञ्चालनमा सम्पन्न भेलाले नरेन्द्र बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरेको छ । उपाध्यक्षमा निमबहादुर जिएम, सचिव ईश्वरीप्रसाद गैरे, सहसचिव पद्मप्रसाद अधिकारी, कोषाध्यक्षमा तिलक वि.क. रहनुभएको छ । सदस्यहरुमा नन्दराम रोका, हेमन्ता घिमिरे, गंगाराम नेपाली, सुन्दरलाल चौधरी, धनबहादुर वि.क., उदयराज भण्डारी, कलिराम वि.क., सङ्गम डि.सि.,विष्णु रिजाल, र देवा बिष्ट रहनु भएको छ ।