कंचनपुर । कञ्चनपुरका विभिन्न पाँच विद्यार्थी संगठनले सिटीईभिटीईबाट सम्बन्धन ल्याएर विद्यार्थी ठगिरहेको भन्दै शैक्षिक विकृती बिरुद्धमा खुला बहस तथा अन्तक्र्रिया गरेका छन् । सोमबार महेन्द्रनगरमा पाँच विद्यार्थी संगठनले खुला बहस तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदले सुपरलिङ्क टेक्निकल कलेजले विद्यार्थी ठगेको बिरुद्धमा कार्बाहीका लागि खुला बहस गरेको बताए । उनका अनुसार अखिल क्रान्तिकारी, नेवि संघ, अनेरास्ववियु, विप्लव नेतृत्वको क्रान्तिकारी र अखिल छैटौँले संयुक्त रुपमा खुला बहस गरेको हो । सुपरलिङ्कसहितका विभिन्न शैक्षिक संस्थाहरुमा भईरहेको विकृती बिरुद्धमा खुला बहस संचालन गरिएको उनले बताए । खुला बहसमा नेवि संघका पुर्व केन्द्रीय सदस्य विष्णूदत्त जोशीले जिम्मेबार निकायबाटै गलत काम गर्नेलाई मलजल गरिएको बताए ।
नाङगो रुपमा विद्यार्थी ठगिदा समेत सम्बन्धित निकाय चुप लागेर बसेको उनको आरोप छ । कार्यक्रममा अखिल छैटौका केन्द्रीय सचिव महेश दत्त जोशीले शैक्षिक माफियालाई साथ दिएर शैक्षिक क्षेत्रमा लुट मच्चाएको बताए ।
यस्तै अनेरास्ववियु कञ्चनपुरका नेता कमल रोकायाले विद्यार्थी आन्दोलन मत्थर पार्न खोजिएको बताए भने विप्लव निकटको क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकास जप्रेलले विद्यार्थीलाई ठग्ने जुनसुकै शैक्षिक संस्थालाई कार्बाही गर्नुपर्ने बताए । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य देवराज जोशीले सुपरलिङ्कका विषय र आन्दोलनमा विषयमा राजनीतिक दल, नागरिक समाजलाई जानकारी गराउँदै थप आन्दोलनका कार्यक्रम अघि बढाउने बताए । विद्यार्थी संगठनले दोषी उपर कार्बाही नभए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीको पहलमा उक्त बहस तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।