विहारी शैलीको संविधान र गणतन्त्रले देश र जनताको हित गर्दैन : अध्यक्ष गजुरेल

विहारी शैलीको संविधान र गणतन्त्रले देश र जनताको हित गर्दैन : अध्यक्ष गजुरेल

ओखलढुंगा । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले अहिलेको संविधान र गणतन्त्रलाई विहारी शैलीको संविधान र गणतन्त्रको संज्ञा दिंदै त्यस्तो संविधान र गणतन्त्रबाट देश र जनताको हित नगर्ने विचार व्यक्त गर्नुभएको छ । क्रान्तिकारी माओवादी तथा देजमोको बैठक तथा प्रशक्षिणका लागि ओखलढुंगा पुगेका अध्यक्ष गजुरेलले शुक्रबार गरिएको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा भन्नुभयो, “राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचार निवारण र बेरोजगारी समस्याको समाधान लोकतान्त्रिक भनिएको विहारी शैलीको संविधान र गणतन्त्रले गर्न सक्दैन । त्यसका लागि जनताको संविधानमा आधारित जनगणतन्त्र स्थापना गर्नु पर्दछ ।”
विरगञ्जको छपकैयामा सीमा मिचिदा सरकार मुकदर्शक बन्नु, महंगी र बेरोजगारी अझ आकाशिएर जानु, भ्रष्टाचार र कमिसनले संस्थागत रुप लिनु आदिले यो व्यवस्थाबाट राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान हुन नसक्ने अध्यक्ष गजुरेलले दावी गर्नुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी)को जिल्ला कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गजुरेलले एमाले माओवादी केन्द्रबीचको बाम गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिंदै उनीहरुको नेतृत्वमा सरकार बने पनि त्यसले भारतीय विस्तारवादकै सेवा गर्ने दावी गर्नुभयो ।
पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्यूरो सदस्य अग्नीज्वाला, केन्द्रीय सदस्यहरु मिनकुमार, आदर्श, जिल्ला सचिव पर्वत, अखिल (क्रान्तिकारी)की केन्द्रीय सचिव ज्ञानु खतिवडा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।