‘एमाले र माओवादी केन्द्र नक्कली वामपन्थी’

‘एमाले र माओवादी केन्द्र नक्कली वामपन्थी’

नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले एमाले र माओवादी केन्द्र नक्कली बामपन्थी भएको बताउनुभएको छ । विहीबार क्रान्तिकारी माओवादी प्रदेश नम्बर ५ नवलपरासीको कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेता सुवेदीले जनताले सक्कली बामपन्थी भएको भम्रमा परेर एमाले र माओवादी केन्द्रलाई मतदान गरेको दावी गर्नुभयो ।

सो पार्टीको ५ नम्बर प्रदेश सचिव समेत रहनुभएका नेता सुवेदीले एमाले र माओवादी केन्द्र बामपन्थी भए उनीहरुले अब बन्ने सरकारको पहिलो बैठकबाट भारत र अन्य छिमेकीहरुसंग गरिएका असमान सन्धि खारेज गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले र माओवादी केन्द्र बामपन्थी रहे उनीहरुले निजिकरण गरिएका सरकारी उद्योग कलकारखाना राष्ट्रियकरण गर्न सक्नुपर्ने चर्चा गर्नुभएको थियो ।

फरक प्रंसगमा नेता सुवेदीले क्रान्तिकारी माओवादीले क्रान्तिकारी शक्तिहरुबीचको एकता र धुब्रीकरणको पहल गरेको बताउनुभएको थियो । कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी ) नवलपरासीका सेक्रेटरी संकल्पको अध्यक्षतामा भएको थियो । सो बैठकले माघ फागुन र चैत्र गरी तीनमहिने संगठन बिस्तार तथा जनपरिचालन अभियान संचालन गर्ने तयारी समेत गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणि भण्डारीले जानकारी दिनुभयो ।