न्यूज एजेन्सी । भारतीय माओवादीका छापामार सेना र भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लाको अबुजमाद जंगल क्षेत्रमा माओवादी दमन अभियानमा खटिएको विशेष केन्द्रीय टास्क फोर्स र स्थानीय रिजर्भ फोर्सको संयुक्त टोलीबीच बुधबार भएको दोहोरो भिडन्तमा परी दुई जना सब–इन्स्पेक्टर र दुईजना हवल्दारसहित विशेष टाक्स फोर्सका ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार सो दोहोरो भिडन्तमा परी टास्क फोर्सका ९ जनाको मरणासन्न अवस्थामा उपचार भइरहेको छ । जसमध्ये दुई जनाको स्थिति चिन्ताजनक रहेको छ ।
३ घन्टासम्म चलेको भनिएको सो भिडन्तमा ६० जना सरकारी फोर्स रहेको र माओवादीको ६ नम्बर कम्पनी संलग्न रहेको भारतीय माध्यमहरूले जनाएका छन् । भिन्डन्तबाट माओवादी छापामारहरुले ठूलो परिणाममा हातहतियार कब्जा गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार माओवादीतर्फ पनि ठूलो नोक्सान भएको दावी गरिए पनि आधिकारिक समाचार प्राप्त भएको छैन ।
गत वर्ष यसै क्षेत्रमा ३७ जना सरकारी फोर्सको मृत्यु भएको थियो । भारतीय सत्तासिन वर्गले मनाउने गरेको गणतन्त्र दिवशको २ दिनअघि भएको यो घटनालाई “कथित गणतन्त्र दिवसको अर्थ छैन, यसलाई खारेज गरौं” भनेर माओवादीले केही दिनअघि गरेको आव्हानसित जोडेर पनि यस घटनालाई हेरिएको जनमेल डटकमले समाचार प्रकाशित गरेको छ ।