
काठमाडौं, ११ माघ । राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला सुरु भएको छ । बिहीबार एक कार्यक्रमबीच सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले मेलाको उद्घाटन गरेका हुन् । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)ले आयोजना गरेको उक्त मेला १६ गते सम्म सञ्चालन हुनेछ ।
मेलामा अवलोकनकर्ताहरुले नयाँ–नयाँ सूचना प्रविधि र उपकरण अवलोकन तथा खरिद गर्न सक्नेछन् । विश्वमा सूचना तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले क्यानले हरेक वर्ष इन्फोटेक मेला आयोजना गर्दै आएको आयोजकले बताएको छ ।




यस २४ औं संस्करणको ‘सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला’ मा ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहेका छन् । ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहेको क्यानले बताएको छ । हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस, आइसीटी कलेज तथा ट्रेनिङ ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स्जस्ता सेवाप्रदायकका स्टल रहेका छन् ।
मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १०० र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । २०७४ माघ १४ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकनकर्ताहरुको लागि १०० रुपैयाँ तोकिएको छ ।