चितवन/कंचनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट चितवन र कंचनपुरका विध्यार्थी संगठन सीमा अतिक्रमण र शैक्षिक माफियाहरुका विरुद्ध आन्दोलनमा उत्रिने भएको छ । अखिल (क्रान्तिकारी)का चितवन संयोजक अमित सापकोटा र कंचनपुरका शंकर महराले वक्तव्य जारी गर्दै यस्तो चेतावानी दिएका हुन् ।
कंचनपुरमा अखिल क्रान्तिकारी, नेविसंघ र अखिल छैठौंसँग संयुक्त वक्तव्य जारी गर्दै जिल्लामा सुपरलिंक टेक्निकल कलेज लगायत जिल्लामा संचालित टेक्निकल कलेजहरुले चर्को शुल्क असुलेर खुलेआम ब्रम्हलुट मच्चाइरहेको भन्दै त्यस्ता कलेजहरुमाथि छानविन गरी अबिलम्ब कारबाही गर्न माग गर्दै त्यस्ता कलेजहरुमाथि सम्बन्धित निकायबाट कारबाही नभएर आन्दोलनमा उत्रिन बाध्य हुने चेतावानी दिइएको छ ।
त्यसैगरी अखिल (क्रान्तिकारी) चितवनले जिल्ला शिक्षा अधिकारीलाई पाँच बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावानी दिएको छ । भारतीय पक्षबाट भएको सीमा अतिक्रमका विरुद्ध संगठन संघर्षरत रहेको भन्दै संगठनले क्षमताभन्दा बढी विध्यार्थी ओसार्ने बोर्डिङलाई कारबाही गर्नुपर्ने, जिल्ला शिक्षा कार्यालय अन्तर्गतका शाखाहरु स्थानीय निकायमा गाभिएपछि परीक्षा, नियमन लगायतका प्रशासनिक जटिलतालाई अबिलम्ब हल गरिनुपर्ने, निजी विध्यालयहरुले रुटमा चल्नसमेत लायक नभएका गाडी भाडामा लिएर क्षमताभन्दा विध्यार्थी कोच्ने कार्य रोक्नुपर्ने, विध्यालयमा शिक्षकले आवश्यक ध्यान नदिने र प्राइभेट ट्युसन पढाउने कार्य रोक्नुपर्ने, विगतमा संगठनसँग भएको सहमति अनुसार विध्यार्थीलाई भाडामा ४५ प्रतिशत छुट दिने सहमति कार्यान्वयन गर्नपर्ने लगायतका मागहरु राखिएको छ ।