राष्ट्रियसभाका लागि ८३ जनाले दर्ता गराए उम्मेदवारी

प्रकाशित मिति : २०७४ माघ १०

काठमाण्डौ । आगामी माघ २४ गते ५६ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सबैभन्दा बढी प्रदेश नं ३ मा १७ जनाको उम्मेदवारी परेको छ भने प्रदेश नं २ मा सबैभन्दा कम ९ जनाले उम्मेदावरी दर्ता गराएका छन् । प्रदेश १ मा १२ जना, ४ मा १२, ५ मा ११, प्रदेश ६ मा १२ र ७ मा १० जनाको उम्मेदवारी परेको हो । १ नम्बर प्रदेशमा एमालेको तर्फबाट ६, कांग्रेसको तर्फबाट ४, माओवादीको तर्फबाट १ र राप्रपाको तर्फबाट १ जनाले मनोनयन दर्ता गराएका छन् । २ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले कांग्रेससँग सहकार्य गरेर दुई–दुई जना उम्मेदवार बनाएका छन् ।

एमाले, माओवादी केन्द्र र समाजवादी पार्टी नेपालले १–१ जनाको मनोनयन दर्ता गरेका छन् । ३ नम्बर प्रदेशमा वाम गठबन्धनको तर्फबाट एमालेले ६ तथा माओवादी केन्द्रले २, नेपाली कांग्रेसले ४, नेपाल मजदुर किसान पार्टीले ४ र राप्रपाले १ जना उम्मेदवार बनाएका छन् । यस्तै ४ नम्बर प्रदेशमा वाम गठबन्धनको तर्फबाट एमालेले ४ तथा माओवादी केन्द्रले २, कांग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट दुई जनाले उम्मेदवारी दिएका छन् । प्रदेश नं ५ मा एमालेका चार, कांग्रेसका चार, माओवादी केन्द्रका दुई र राष्ट्रिय जनमोर्चाको एक जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश ६ मा वाम गठबन्धनको तर्फबाट एमालेका ५ तथा माओवादी केन्द्रका ३ जना र कांग्रेसका ४ जनाको मनोनयन दर्ता भएको छ । यस्तै ७ नम्बर प्रदेशमा कांग्रेसका तर्फबाट ४, एमालेको तर्फबाट ४ र माओवादी केन्द्रको तर्फबाट २ जनाले मनोनयन दर्ता गराएका छन् । आगामी सोमबार निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

यसैबीच, प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेद्वारी परेको छ । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले बताएको छ । प्रदेश २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । खुलातर्फका ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

महिला तीन सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेको छ ।
प्रदेश ३ र ४ मा सबै ८र८ सदस्यका लागि नै मतदान हुने भएको छ । प्रदेश ३ मा ८ सिटका लागि १७ र प्रदेश ४ मा १२ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश ५ बाट राष्ट्रियसभामा तीन महिला सदस्य निर्विरोध निर्वा्चित भएका छन् । एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ । दावी विरोधलगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वा्चित भएको घोषणा हुनेछन् ।
प्रदेश ७ बाट भने खुला र महिलातर्फ ३÷३ सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेको छ ।