चिकित्सकहरुकै लापरवाहीका कारण विरामीको दुवै मिर्गौला फेल

प्रकाशित मिति : २०७४ माघ ६

बाँके । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत पुस २१ गते अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीले ‘बी’ पोजेटिभ चढाएका थिए । जसले उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ ।

रुमाको अहिले भेरी अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहको छ । अस्पतालले आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च बेहोरिरहेको भएपनि त्यहाँ उपचार सम्भव नभएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले बताउँछन् । शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झनै नाजुक बनेको छ । मुख सुन्निएको छ, सहन नसक्ने गरी पेट दुख्न थालेको डा. आचार्यले बताए । उनलाई दुखाइ कम गर्ने कडा खालको औषधि दिइएको छ । यसरी चिकित्सकहरुको लापरवाहीका कारण रुमाको ज्यान जोखिममा परेपछि आफन्तहरु आक्रोशित बनेका छन् । भेरी अञ्चल अस्पतालको यो लापरबाहीले सर्वसाधारणलाई नराम्ररी झस्काएको छ ।