इटहरी । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाइएल)को १ नं. प्रदेशको प्रथम भेलालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले क्रान्तिकारी युवाहरु वैकल्पिक शक्तिको रुपमा अगाडि आउनु पर्ने विचार व्यक्त गर्नुभएको छ । नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने उद्देश्य राखेर गरिएको दशवर्षे लामो जनयुद्ध तत्कालीन नेतृत्वले गरेको धोका र गद्दारीका कारण छिन्नभिन्न हुन पुगेको चर्चा गर्दै प्रतिक्रान्ति हावी हुन पुगेको वर्तमान अवस्थामा क्रान्तिमा युवाहरुको खडेरी परिरहेको छ भन्नुहुँदै अध्यक्ष गजुरेलले फेरि पनि मुलुकमा पुनस्र्थापित हुन पुगेकोले संसदीय व्यवस्थालाई उखेलेर फाल्न र नयाँ जनवादी क्रान्तिको कोर्स पूरा गर्न क्रान्तिकारी युवाहरु क्रान्तिमा लामबद्ध हुनुपर्ने आवश्यकता औल्याउनु भयो ।
संसारभर छरिएर रहेका परिवर्तनका पक्षधर युवाहरुलाई संगठित गरी क्रान्तिको प्रक्रियामा अगाडि बढाउन आरवाइएलले तीन महिने अभियान थालिसकेको प्रशंग उल्लेख गर्दै अध्यक्ष गजुरेलले परितर्वन चाहने युवाहरुलाई आरवाइएलमा संगठित भएर क्रान्तिमा लामबद्ध हुन आव्हान पनि गर्नुभयो ।
उक्त भेलामा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य अग्नीज्वालाले युवाहरु इतिहासका चालक शक्ति भएको भन्दै क्रान्तिका संवाहक शक्ति भएकाले क्रान्तिकारी युवाहरुको सहभागिताविना नयाँ जनवादी क्रान्तिको कल्पना पनि गर्न नसकिने बताउनु भयो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको भयावह स्थितिको समाधानका नयाँ जनवादी क्रान्ति अनिवार्य हुन पुगेको प्रसंग उल्लेख गर्दै उहाँले सचेत र जागरुक युवाहरु क्रान्तिको महान अभियानमा लाग्नुपर्ने बताउनु भयो ।
आरवाइएलका अध्यक्ष अमीर महर्जनले भ्रष्टाचारी, कालोबजारी, घुसखोरी र राष्ट्रघाती तत्वहरुका विरुद्ध क्रान्तिकारी युवाहरु सशक्त रुपमा लाग्नुपर्ने आवश्यकता टड्कारो बनिसकेको चर्चा गर्दै उहाँले युवाहरुलाई संगठित भएर अगाडि बढ्न आव्हान गर्नुभयो ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु मीनकुमार, मनोज श्रेष्ठ, गणेश कटुवाल, सिताराम बुढाथोकी, हरिकृष्ण गजुरेललगायतका नेताहरुको उपस्थिति रहेको उक्त भेलाले रविन लिम्बुको संयोजकत्वमा १९ सदस्यीय आरवाइएलको १ नं. प्रदेश कमिटि गठन गरेको छ । उक्त कमिटिका सदस्यहरुमा सन्तोष ढकाल, दिपु शर्मा, गुम्बराज लिम्बु, कुलबहादुर श्रेष्ठ, नरेश राउत, विनय बोहरा, जलन रावल, जीवन श्रेष्ठ, अनिल राई, रविन दुलाललगायत रहेका छन् ।