काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउने भएको छ । माघ ३ गत्ते पार्टी कार्यालय बुद्धनगरमा बसेको महासंघको केन्द्रीय समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मजदुर आन्दोलनमा देखा पर्दै गएको गत्याबरोधलाई चिर्दै नयाँ आधारमा संगठन पुनर्गठन, सुदृढीकरण र विस्तार गर्ने आधारभूत लक्ष्य हासिल गर्न तीन महिने अभियान अगाडि बढाउने निर्णय गरेको महासंघका संयोजक इश्वर तिमिल्सिनाले बताउनु भयो ।
बैठकले सातवटै प्रदेशमा प्रदेश र जिल्ला स्तरीय संरचना निर्माण गर्ने, घटक संघहरुका केन्द्रीय समितिहरुको गठन, पुर्नगठन तथा साधारण सदस्यता विवरणका लागि आवश्यक व्यवस्थापकीय काम गर्ने, विभिन्न पेशाबाट सहभागितासहित जिल्ला महासंघ निर्माण गर्ने, जिल्ला महासंघ मातहत रहेका घटक संघहरु मध्येबाट आवश्यकता अनुसार इकाई वा प्रतिष्ठान स्तरीय संरचना निर्माण गरी प्रचारात्मक आन्दोलन गर्न पहल अगाडि बढाउने निर्णय गरिएको छ ।
बैठकले चैत्र मसान्तसम्म महासंघको राष्ट्रिय भेला सम्पन्न गर्ने निर्णय गर्दै त्यसका लागि १ नं. प्रदेश माघ १५ गते, २ नं. प्रदेश माघ १७ गते, ३ नं. प्रदेश माघ १९ गते, ४ नं. प्रदेश माघ २१ गते, ५ नं. प्रदेश माघ २३ गते भेला सम्पन्न गर्ने निर्णय गरेको छ भने ६ नं.÷७ नं. प्रदेश सम्बन्धित प्रदेश पार्टीसँग सुझाव लिई केन्द्रीय कार्यालयले टुङ्गो लगाउने निर्णय गरेको छ ।
त्यसैगरी, पेशागत संगठनहरुको केन्द्रीय समितिको संयोजकको जिम्मेवारी थपघट गरिएको छ । जसअनुसार पेन्टरमा मोहन पहाडी, सेक्युरिटीमा तेज गुरुङ, उद्योगमा उद्धव गुरुङ, फर्निचरमा केशव सुवेदी, चियामा बालकृष्ण बुढाथोकी, पर्यटनमा देवी गौरी, उर्जा तथा हाइड्रोमा भीम काफ्ले, बैदेशिक रोजगारमा जनक चौलागाई, थांकामा फुर्नाम्गेल मुक्तान रहने निर्णय गरिएको छ ।
बैठकमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ फ्र्याक्सन इन्चार्ज दिनेश शर्मा‘सागर’ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।