रुकुम पूर्व, २ माघ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको जंगलमा लागेको डढेलोमा परेर दुईजनाको मृत्यु भएको छ । पुथा उत्तरगंगा ३ को लालपाटन जंगलमा गएको शुक्रबारदेखि लागेको डढेलोमा परेर घाँसदाउरा गर्न गएका दुई जनाको मृत्यु भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए ।
पुथा उत्तरगंगा ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको डढेलोमा परेर मृत्यु भएको हो । उनीहरु दुवैजनाको डढेलोमा परेर आइतबारै मृत्यु भएपनि घटनास्थल विकट ठाउँमा भएकाले ढिला गरी जानकारी आएको प्रजिअ सापकोटाले बताए ।
डढेलोमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएका छन् । उनलाई जिल्लामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ लगिएको छ । पुथाको जंगलमा अहिले पनि डढेलो लागिरहेको स्थानीयबासीले बताएका छन् ।































