झर्रोटर्रो : प्रेत पाटीको वकपत्र

झर्रोटर्रो : प्रेत पाटीको वकपत्र

गएको हप्ता पञ्चप्रेतहरूको पाटीको बैठक बस्यो । १९ गते बसेर २१ गते उठेको पञ्चप्रेतहरूको पाटीको बैठकले चुनाउ हार्नुको कारणबारे डोजर लगाएरै उत्खनन् ग¥यो । सरकारको उपर्धानमा बाहाल भएरै चुनाउ लड्दा पनि प्रेत पाटीले जीवनभर तङ्ग्रिनै नसक्ने गरि हार व्यहोर्नु परेपछि हुनसम्मको पिर परेको छ । चुनाउमा सर्मनाक पराजय भोग्नु पर्दा थिलथिलो हुनेगरि थला परेको प्रेत पाटीले बल्लतल्ल बैठकसम्म बसेर चुनाउको हिसावकिताव निकालेको छ ।

प्रेतकाल थाम्न अनेकौँ तिगडम गर्दा पनि, दरबारमार्गमा भुटुटुटु गोली चलाएर प्रजाहरूको सोत्तर लाउँदा पनि, देशैभरी कफ्र्यु लगाएर प्रजातन्त्र दिँदा पनि क्यै सिप नचलेपछि प्रेतकाल बचाउन सकिएन । त्यतिबेला प्रेत पाटीका माऊ नेताजति सबै सरकारमा बलिया लौरा समाएर बसेकै थिए । जसरी तसरी बहुदल नामको हुल्लडबाजे व्यवस्था आइछाड्यो । त्यसपछि पञ्चप्रेतहरूले पनि भागपुग्दो पाटी खोलेर बहुदलमा सामेल भए । बेलाबखत सरकारै चलाउने अवसर पनि बहुदलवादीहरूले दिएकै हुन् । सरकारमा सामेल भएर लुँड्याउने अवसर त निरन्तर पाइ नै राखे । अहिले पनि सरकारमा टाँसिएर लुँड्याएकै छन् । यति हुँदा पनि अहिलेको चुनाउ प्रेतहरूको पाटीलाई अपसकुन जस्तो भयो । अरू गोडा दुएक प्रेत पाटीलाई त सरकारमा बसेर ढुकुटी लुँड्याउँदै चुनाउमा जाने ‘अहोभाग्य’ मिलेन । प्रेतहरूकै पाटी मध्यको एउटा हेटौँडे थापाकाजीको पाटीले त बडा गजबको अवसर पायो । त्यो पनि चुनाउको तिथि मिति घोषणा गरेपछि चुनाउकै समयको मुखैमा आएर । अझ मन्त्रालय पनि गोलघेरेका मन्त्रालयमा ‘जार’झैँ पसेर पायो । सरकारको उपर्धान सहितको बलियो मन्त्रालय जो दातामाताहरूसँग साँठगाँठ गर्न पाउने मन्त्रालय हो यो सहितका शक्तिशाली मनत्रालय लुँड्याएर चुनाउ गर्दा पनि नतिजा सून्य जस्तै भयो । धन्न वामेहरूको भीक्षा पाएर एकजना झापाली लिम्ुबुप्रेतले संसदमा छिर्ने अवसर पाए ।

यसरी चुनाउको यस्तो अवस्था भुगत्नु परेपछि प्रेत पाटीले बैठक बसेर हरूवा गोरुको छेरुवा निष्कर्ष के दिने त भनेर उत्खनन् गर्दा उसले चुनाउमा हार्नुको आठ कारण पत्ता लगायो । तिनै आठ कारणहरूलाई वकपत्रमार्फत् प्रजाहरूका नाममा जारि गरेको छ । उक्त वकपत्र यसप्रकार रहेको छ –
 वामेहरूको जस्तो बलियो गठबन्धने गाँठो नकस्नु ।
 बल्लतल्ल पारेको गाँठो पनि चारतारेले फुस्काईदिएर हामीलाई नाङ्गो पार्नु । भागविलो राम्रो नदिनु, चौवन्नीतहका प्रजाहरूले इमान्दारिता नदेखाउनु ।
 ‘अधिराज्य’भरी हाम्ले उमेद्वार बन्ने मनुखे नपाउनु र कनिकुथी भएपनि उठाउन नसक्नु । चुनाउको मुखैमा आएर पाटी टुक्राटुक्रा परेर टुक्रिनु । प्रेतकालिन तरिकाले पाटी एकजनाको हालहुकुममा चल्न नसक्नु र बहुदलवादीहरूको बहुलवादी संस्कार र संकृति हाम्रो जस्तो गौपरानी पाटीमा छिर्नु । (गाई चिन्ह भएकाले गौपरानी भनिएको – कैलु.)
 संविधान हामीले चाहेजस्तो प्रेतकालिन नहुनु र संसोधनमा हाम्रो बलबुँता नपुग्नु, हाम्रो अडान पनि ताकपरे तिवारी नत्र गोतामे जस्तो हुनु ।
 सरकारमा हाम्रा नेता कार्यकर्ताहरू सबैलाई सहभागि गराउन नसक्नु, जहिले पनि पाटी अध्यक्षले मात्रै सहभागी हुने वाध्यता निर्माण हुनु । अध्यक्ष पटक पटक सरकारको उपर्धान भएकोमा अरू प्रजा दुनियाँले अनुभूति गर्न नसक्नु । त्यसमा रमाउन नसक्नु ।
 चुनाउमा प्रयोग गर्ने सरकारीदेखि दाताहरूबाट आउने अनुदानका साधन श्रोत हामीलाई नआउनु ।
 हाम्रो सङ्गठन प्रेतकालमा जस्तो एकलौटी नहुनु, सम्पूर्ण प्रजाहरूलाई एकछापे बनाउन नसक्नु ।
 पाटी नेतृत्वको सिद्धान्त पाङभुङे हुनु र पाङभुङे सिद्धान्तका बारेमा प्रजाहरूलाई प्रष्ट पार्न नसक्नु ।
यसरी प्रेत पाटीले बैठक बसी चुनाउको भग्नावशेष उत्खनन् गरेर निकालेको निष्कर्ष वकपत्रका रूपमा सार्वजनिक गरेपछि यो नेपाल मण्डलको राजनीतिक बजारमा निकै चर्चा परिर्चाको विषय बनेको छ ।
२२ पुस २०७४

kailubraha73@gmail.com