एजेन्सी, १८ पुस । दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोन उनले नयाँ वर्षको अवसर दिएको अभिव्यक्तिको स्वागत गरेको छ । यसै वर्ष दक्षिण कोरियामा आयोजना गर्न लागेको शीतकालीन ओलम्पिकमा सहभागिता जनाउने इच्छा व्यक्त गरिएको किमको भनाइलाई राष्ट्रपति कार्यालय ब्लूहाउसले स्वागत गरेको हो ।
सिन्हवाले जनाए अनुसार सोमबार राष्ट्रपतिका प्रवक्ता पार्क सो ह्यूनले एक प्रेस बिफ्रिङमा शीतकालीन ओलम्पिकमा सहभागिताका लागि दक्षिण कोरियासँग वार्ता गर्न प्रतिनिधिमण्डल पठाउँने भनी किमले दिएको अभिव्यक्तिको ब्लूहाउस स्वागत गर्दछ भनेका छन् । यसले दुई कोरियाबीचको सम्बन्ध सुधारका लागि मार्ग खोलेको पनि उनले बताएका छन् ।
प्रवक्ता पार्कले भनेका छन्, ‘कोरिया प्रायद्वीपमा अन्तरसम्बन्ध पुर्नस्थापित गर्न र शान्ति कायम गर्ने मुद्दामा उत्तरसँग संवाद गर्न ब्लूहाउस तयार छ’ दक्षिण कोरियाले उत्तर कोरियासँग सम्बन्ध सुधारका लागि समस्या समाधान गर्ने इच्छा राखेको र यसले उत्तरको परमाणु मुद्दालाई शान्तिपूर्ण तरिकाले हल गर्न अन्तर्राष्ट्रिय समुदायलाई सहयोग पुग्ने पार्कले दाबी गरे ।
सिन्हवाका अनुसार दक्षिण कोरियाको सत्तारुढ दल डेमोक्राटिक पार्टीले पनि किमको अभिव्यक्तिलाई सकारात्मक भनेको छ । उक्त पार्टीले दुई कोरियाको सम्बन्ध सुधारका लागि प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएको छन् । साथै दुई देशबीच मन्त्रिस्तरीय वार्ता तय गर्न पनि सरकारलाई आग्रह गरको छ । नयाँ वर्षमा किमको सन्देशः ‘उत्तर–दक्षिण कोरियाबीच रगतको नाता छ मिलौं’