अश्रुग्यास प्रहार गरी बाटो खुला

अश्रुग्यास प्रहार गरी बाटो खुला

बनेपा, १८ पुस । काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि आज प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ ।  धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । “दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, त्यसलाई खुलाउन अश्रुग्यास प्रहार गरेका हौँ”, प्रहरी उपरीक्षक थापाले बताए ।

आइतबार काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा ३ ख ५९५५ नंको यात्रुवाहक बसले बाटो काट्न लागेका अवस्थामा ठक्कर दिएर गम्भीर घाइते भएकी नमोबुद्ध नगरपालिका–१ निवासी ३७ वर्षीया फूलमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा सोमबार मृत्यु भएको थियो ।

प्रहरीले क्षतिपूर्तिका विषयमा कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेको बताएको छ भने स्थानीयवासीले व्यवसायी छलफलका लागि वार्तामा नबसेका कारण दबाबस्वरुप राजमार्ग अवरुद्ध गरेको बताइएको छ । राजमार्ग अवरुद्ध भएपछि केहीबेर अरनिको राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधन सञ्चालन भएका थिएनन् ।

स्थानीयवासी गौरी लामाले दवावस्वरुप प्रदर्शनमा उत्रेका स्थानीयवासीमाथि प्रहरीले दमन गरेको आरोप लगाउँदै वार्ताका लागि तयारी भइरहेको जानकारी दिए ।