काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले दिसेम्बर २६, २०१७ अर्थात् कमरेड माओको १२५ औं जन्मदिवसको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै नेपाली नयाँ जनवादी क्रान्ति र विश्व सर्बहारा क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्न सबै कम्युनिष्ट क्रान्तिकारीहरुमा अपील गरेको छ । पार्टीका महासचिव किरणद्वारा सोमबार जारी प्रेस वक्तव्यमा यस्तो अपील गरिएको हो ।
वक्तव्यमा भनिएको छ, “आज २६ दिसेम्बर कमरेड माओको १२५औं जन्मदिवस हो । माओदिवसको यस ऐतिहासिक अवसरमा हामी विश्व सर्बहारावर्गका एक महान् नेता कमरेड माओको विशेष स्मरणसहित उच्च सम्मान गर्दछौं । माओदिवसको यस अवसरमा हामी सम्पूर्ण पार्टी कमरेडहरु, आम जनसमुदाय र विश्व सर्बहारावर्गप्रति लाल सलाम अर्पण गर्दछौं ।
माओले चीनमात्र होइन विश्वक्रान्तिकै निम्ति माओवादको सैद्धान्तिक हतियार प्रदान गर्नु भएको थियो । माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिन पश्चात् माओले विश्वक्रान्तिलाई नेतृत्व प्रदान गर्नु भएको थियो । माओले सामन्तवाद, साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादका साथै आधुनिक संशोधनवादका विरुद्ध समेत कडा संघर्ष चलाउंदै क्रान्ति पश्चात् प्रतिक्रान्ति रोक्नका लागि सर्बहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त अनुसार महान् सर्बहारा सास्कृतिक क्रान्तिको मान्यता प्रस्तुत गर्नुृ भएको थियो । माओका ऐतिहासिक योगदानहरु हाम्रा लागि अविस्मरणीय रहेका छन् ।
आज, सिङ्गो विश्वका साथै नेपालमा पनि क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपंथी संशोधनवादद्वारा भीषण अवरोध तथा चुनौतीहरु तेस्र्याइएका छन् । यस स्थितिमा साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि माक्र्सवाद—लेनिनवाद—माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्ति र विश्वमा सर्बहारा समाजवादी क्रान्तिको तयारी गर्नु हाम्रो ऐतिहासिक कार्यभार हो । यस प्रकारको कार्यभार बहन गर्नका लागि माओदिवसले हामीलाई विशेष ऊर्जा र उत्प्रेरणा प्रदान गर्दछ । कमरेडहरु, माओको १२५औ जन्मदिवस भव्यतापूर्वक मनाऔं ! नेपाली नयाँ जनवादी क्रान्ति र विश्व सर्बहारा क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढौं !!”