वीरगञ्ज, ५ पुस । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको छ । आगलागीमा परि दुईजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् । ज्यान गुमाउनेको भने पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

बिहान ६ बजेखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन गएको वीरगन्ज महानगरपालिकाको ३ नम्बर दमकल आगोमा परी जलेको स्थानीय सञ्चारकर्मीहरुले जनाएका छन् ।

दमकलका कर्मचारीहरु मधुसुदन मिश्र र यादवप्रसाद अधिकारी सम्पर्कविहीन भएका छन् । उनीहरु आगोमा परेको आशंका गरिएको छ ।
दमकल चालक अरुणकुमार महतो, फायरम्यान सञ्जीवकुमार नेपाल र अम्बिका पटेल गंभिर घाइते भएका छन् । उनीहरुलाई वीरगञ्जस्थित हेल्थ केयर अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको छ ।

घटनास्थलमा पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागी ठूलो भएकाले दमकल समेत नजिकसम्म पुग्न सक्ने अबस्था नरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

आगलागीले प्लान्टभित्र रहेका ग्याँस ट्यांकी र सिलिण्डर विष्फोट हुने क्रम अझै रोकिएको छैन । आगलागी फैलने डरले ग्याँस उद्योग नजिक रहेका बस्तीहरु खाली गरिंदैछ । आगलागी भएको क्षेत्रभन्दा एक किलो मिटर टाढै सर्वसाधारणलाई रोखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर