क्रान्ति गर्नको लागि क्रान्तिकारीहरुको बिचको एकता र ध्रवीकरण आवश्यक छ । क्रान्तिकारी शक्तिहरु एकतावद्ध नभैकन कुनै पनि मुलुकमा क्रान्ति गर्न सकिन्न । क्रान्ति भनेको पुरानोको विरुद्ध नयाँ शक्तिले गर्ने परिवर्तनकारी संघर्ष हो । यो दुई प्रकारले गरिन्छ । यौटा संघर्ष शान्तिपूर्ण नारा जुलुस, हड्ताल र चुनावी तरिकाले गरिन्छ । अर्को, सशस्त्र वल प्रयोगद्वारा गरिन्छ । पहिलो संघर्ष मात्रात्मक सुधार अर्थात् मात्रात्मक परिवर्तनकारी हुन्छ । यो निशस्त्र संघर्ष हो । यो कानुनको दायराभित्र रहेर सत्तासीनहरुलाई दवाव दिएर उनिहरुबाट क्रमशः अधिकार लिने हुन्छ । यसको अर्को विधि विद्यमान कानुनभित्र रहेर चुनावी प्रतिस्पर्धाद्वारा सत्तामा पुगेर विद्यमान राज्यसत्ताको संरचनालाई नभत्काइकन राज्यसत्ता आफ्नो अनुकूल सुदृढ गर्ने त्यसमा मात्रात्मक परिर्वतन गर्ने हुन्छ । यसलाई राजनैतिक भाषामा संशोधनवादी लाईन÷सिद्धान्त भनिन्छ यो वास्तावमा क्रान्तिबाट नभएर वैधानिक संघर्षबाट गर्ने प्रयत्न गरिन्छ ।
क्रान्तिको वास्तविक परिभाषा आमूल परिवर्तन हो । आमूल परिवर्तन भनेको राज्यसत्ताको सम्पूर्ण संरचना बदल्नु हो । पुरानो राज्यसत्ताको सम्पूर्ण संरचना नबदलिईकन मुलुकमा गुणात्मक विकासको सम्भावना रहन्न । किनभने पुरानो राज्यसत्ता र त्यसका संचालकहरु राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक हरेक दृष्टिले विकृति र विसंगतीमा चुर्लुमा डुबेको हुन्छ । त्यो सत्ता न त कुनै हिसाबले जनताप्रति उत्तरदायी हुन्छ, न त राष्ट्रप्रति नै यो सत्ता बन्दुकको बलमा टिकेको सामन्त, दलाल नोकरशाही पुँजीपतिको सत्ता हो । राष्ट्र र जनताप्रति उत्तरदायी नहुनुको कारण यसको चरित्र उत्पीडक र प्रतिकृयावादी प्रकारको हुन्छ । यसले जनताको नै हक अधिकारहरु हरण गरेर उनिहरुमाथि दमन र उत्पीडन थुपारेको हुन्छ । फलस्वरुप उत्पीडित जनता र उत्पीडक राज्यसत्ता बिचको अन्तरविरोध दुश्मनीपूर्ण हुन्छ । मुलुकमा विद्यमान सामन्त, दलाल, नोकरशाही पूँजीपति वर्गले बन्दुकको वलमा जनतामाथि शासन गर्छ भने उत्पीडित जनता आफ्नो नैसर्गिक हक अधिकार र आफ्नै वर्गको राज्यसत्ता निर्माण गर्न क्रान्तिकारी विचार सिद्धान्तको आधारमा सशस्त्र वल प्रयोगद्वारा आफ्नो सत्ता स्थापना गर्न चाहान्छन् । सशस्त्र वल प्रयोगविना उत्पीडित वर्गले कहिल्यै न त आफ्नो सत्ता, न त मुलुकमा आमूल परिवर्तनको सम्भावना नै रहन्छ । वास्तवमा क्रान्ति भनेको सशस्त्र वल प्रयोगको माध्यमबाट हुने वर्गीय र राष्ट्रिय मुक्ति सत्तामा हुने आमूल परिवर्तन नै हो ।
नेपालमा क्रान्ति सम्पन्न गर्नको लागि राष्ट्र र जनताप्रतिको सामाजिक भावनाले ओतप्रोत भएका, मालेमावादी विचार, सिद्धान्तले ओतप्रोत भएका राष्ट्र र जनताप्रति त्याग र वलिदानी भावनाले ओतप्रोत भएका जुनसुकै खेमाका क्रान्तिकारी शक्तिहरु बिच एकता र ध्रुवीकरण हुनै पर्छ । यो अहिलेको अपरिहार्य आवश्यकता हो । जनवादी क्रान्तिविना न त यो मुलुकमा दिगो शान्ति सम्भव छ, न त अग्रगामी निकास र विकास । चाहे जुनसुकै बामपन्थी खेमामा होस्, कुण्ड–कुण्ड पानी मुण्ड–मुण्डी बुद्धीबाट कुनैपनि एक्ले वीरले नेपालमा क्रान्ति गर्न सक्तैन । माओले भन्नुभएझै “क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीविना, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुसार बनेको पार्टीविना साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजीत गर्न र विशाल जनसमुदायलाई नेतृत्व गर्न असंभव छ ।” (संसारका क्रान्तिकारी शक्ति एकगठ होऊ, साम्राज्यवादी आक्रमणका विरुद्ध जुध, नोभेम्बर १९४८)
माओले भन्नुभएझै सबभन्दा पहिले हामीलाई यतिबेला क्रान्तिकारी पार्टी चाहिएको छ । क्रान्ति गर्ने पहिलो आधार क्रान्तिकारी पार्टीको निर्माण नै हो । कम्युनिस्ट आन्दोलन रक्षात्मक चरणमा पुगेको वर्तमान अवस्थामा क्रान्तिकारी पार्टी निर्माण र सुदृढ नभैकन क्रान्तिका कुरा गर्नु केवल लफ्फाजी मात्र हुन्छ । क्रान्ति भन्ने चिज कुनै भोज भतेर होइन, यो त दुई विपरीत वर्ग सत्ता बिचको निर्णयक लडाईं हो । यो सरल, सहज र स्वभाविक ढंगले सम्पन्न हुने चिज होइन । अपितु, यो उत्कृष्ट त्याग, वलिदान, समर्पण हजारौ घेराबन्दी र चुनौतीका पहाडहरु भत्काउदै, हजारौ क्षती उपलब्धिका बिचाबाट निरन्तर संघर्षबाट प्राप्त हुने चिज हो । त्यति मात्र होइन, यो त साम्राज्यवाद, विस्तारवाद, सामान्तवाद तथा घरेलु प्रतिकृयावादसंग जीवन–मरणको लडाईं लड्ने कुरा त छँदैछ, त्यसका साथै कम्युनिस्ट आन्दोलनभित्रको हरियो गोमनको रुपमा रहेको संशोधनवाद, नवसंशोधनवाद तथा विविध खाले अवसरवादसंग निरन्तर संघर्ष गर्दै र त्यसका विरुद्ध निर्णायाक लडार्इं लड्दै उत्पीडित सर्वहारा वर्गको मुक्ति प्राप्त गर्ने कुरा हो । संशोधनवादसंँगको लडाईंको प्रसंग उल्लेख गर्दै क. माओ भन्नुहुन्छ “माक्र्सवाद–लेनिनवाद र संशोधनवादका बिचको संघर्षमा कसको जित र कसको हार भन्ने कुरा अझै अनिश्चित छ । यहाँनेर कुन कुराको प्रवल सम्भावना छ भने हामीले सिद्धान्तमा गल्ती ग¥यौ भने संशोधनवाद विजयी बन्ने छ, हामी हार्ने छौ ।” (क. माओ सन् १९६२)
अहिले यतिखेर साम्राज्यवादको विश्व भुमण्डलीकरण भै रहेको बेला कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद जहर जस्तै फैलिएको छ । यो जहरले विचार सिद्धान्त अलि कति कमजोर भएका मस्तिष्क र भावना प्रेरित मुटुहरुमा जबस्जस्त प्रभाव पार्न थालेको छ । यो जहर यति खतरनाक ढंगले फैलिन थाल्यौ कि हिजोको दिनमा युद्धको नेतृत्व गरेका मुटुहरुमा समेत विभिन्न रंगमा जहज फैलिएर कम्युनिस्ट आन्दोलनलाई नै प्रदुषित र प्रभावित पार्न थाल्यो । क्रान्तिको निम्ति त्याग वलिदानमा उम्लिरहेको रगतलाई समेत विस्थापित गर्न प¥यो । यसलाई ठूलो विडम्बना नै मान्नु पर्छ । त्यो क्रम सिंगो कम्युनिस्ट आन्दोलनमा त छँदै थियो, त्यसको साथै माओवादी आन्दोलनभित्र पनि अत्यन्त विषाक्त भएर फैलिन थाल्यो । जस्ले एकपछि अर्को गर्दै युद्ध पिलरहरु ढाल्दै छ । विश्व साम्राज्यवाद, विस्तारवाद र घरेलु प्रतिकृयावादको मुख्य ग्राण्ड डिजाइन भनेको ‘मियाकी जुती मिया कै शीर पर’ भनेझै विश्व कम्युनिस्ट आन्दोलनलाई सिध्याउन संशोधनवाद तथा नवसंशोधनवादलाई नै विशेषतः नवसंशोधनवादलाई प्रयोग गर्दै आएको छ । त्यसमार्फत् क्रान्तिकारी पार्टीभित्र अन्तरविरोध पैदा गर्नु, फुट पार्नु र क्रान्तिकारी हेडक्वारलाई घेरा हालेर सखपव पार्नु रहेको छ । जुन वर्तमान परिवेशका घटनाक्रमहरु हुन् ।
तसर्थ, भविष्यमा हुने क्रान्तिको सुनिश्चतताको निम्ति आत्मागत स्थिति मजबुत पार्न लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आत्मासाथ गर्दै मालेमावादको मार्ग निर्देशनमा चल्ने नेतृत्वसहितको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नु आजको टड्कारो आवश्यकता हो । त्यसको निम्ति पूर्व माओवादी क्याम्प र त्यस इतरका क्रान्तिकारी शक्तिहरु सर्वहार वर्गको यौटै झण्डा मुनी गोलबन्द हुन अति जरुरी भै सकेको छ ।
विगतका दिनहरुमा क्रान्तिकारी शक्तिहरुलाई एकढिक्का बनाएर लैजान नसक्नुका विरासतहरुलाई त्याग्दै र ती कमजोरीहरुलाई आ–आफ्नो ठाउँबाट आत्मसाथ गर्दै सच्चिन र सच्च्याएर अगाडि बढनु आजको आवश्यकता हो । कम्युनिस्ट आन्दोलनभित्र बारम्बार देखापर्दै आएको दक्षिण, वाम र मध्यपन्थी विचारहरुलाई व्यापक छलफल, बहस, नीति, विधि र क्रान्तिकारी कार्यदिशाका आधारमा व्यवहारद्वारा प्रोत्साहित गर्दै क्रान्तिकारी पार्टीलाई गोलवन्द गरी वर्ग दूश्मन माथि हमला बोल्नु वर्तमान परिस्थितिको माग हो । यसो भनिरहँदा क्रान्तिकारीहरु बिचको ध्रुवीकरण वा एकता निम्ति मालेमावादी सिद्धान्तको आधारमा नयाँ जनवाद समाजवाद र साम्यवादी गन्तव्यमा पुग्ने गरी मिलन विन्दुका न्युनतम आधारहरु तय गरेर जानुपर्छ । अन्यथा, त्यो एकता वा ध्रुविकरणबाट अवसरवादीले फाईदा उठाउने र क्रान्तिकारी शक्तिले धोका पाउने खतरा रहन्छ । वर्तमानको यो चुनौति र समयको मागलाई मध्य नजर गर्दै साम्राज्यवाद–विस्तारवाद तथा संशोधनवाद, नवसंशोधनवादको भिषण हमला र घेरावन्दीबाट क्रान्तिकारी विचार र हेडक्वार्टरको रक्षा गर्दै सर्वहार आन्दोलनलाई सुसंगठित गर्नु वर्तमान युगको अपरिहार्य आवश्यकता हो । सर्वहार आन्दोलनका हिमायती सम्पूर्ण क्रान्तिहरुले एकपटक गंम्भीर भएर सोच्ने कि ?