
बैंकक, २६ मंसिर । एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । दोस्रो खेलमा मंगलबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर भेटायो ।
नेपालका तृप्तराज दासले सर्वाधिक २७ रन जोडे । त्यस्तै, राजन मगरले १७ तथा सुनिल भण्डारी र विशाल विक्रम केसीले समान ११–११ रन जोडे । बलिङमा हङकङका नर्सुला रानाले ३ विकेट लिए । त्यसअघि बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन मात्रै जोड्न सक्यो ।
हङकङका आर्यन शरद शेट्टीले २४ रन तथा कालहन मार्क चल्लुले १६ र आरुष भागवतले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका प्रतिश जिसीले ३ तथा अजय कुमार लुनियाले २ विकेट लिए । यस्तै निखिल कुमार सिंह र नारायण जोशीले समान १–१ विकेट हात पारे ।
जितसँगै नेपाल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेल खेलेको नेपालले दुवैमा जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थान उक्लिएको हो । ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने प्रावधान छ ।