‘जनताको आकर्षण विस्तारै हामीतिर बढ्दै गएको छ’

‘जनताको आकर्षण विस्तारै हामीतिर बढ्दै गएको छ’

वाम गठबन्धनका एमाले र माके, लोकतान्त्रिक गठबन्धनका काँग्रेस, राप्रपा र संघीय समाजवादी र हाम्रो देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भोजपुरको चुनावी मैदानमा छन् । चुनावी प्रतिस्पर्धामा नयाँ भएर पनि देजमोले जिल्लामा राम्रै स्थान बनाएर अगाडि बढिरहेको स्थिति छ । निर्वाचनको क्रान्तिकारी उपयोगको नीतिनुरुप हामीले जिल्लामा वाम र लोकतान्त्रिकका नाममा भएका गठबन्धन र त्यसले जनतामा पारेको भ्रमलाई चिर्दै अगाडि बढिरहेका छौं । हामीले जनतालाई स्पष्टताका साथ भनेका छौं– बाम भन्नेहरु बाम होइनन् । किनकि उनीहरु प्रतिक्रियावादी सत्ताका विरोधी होइनन्, मतियार हुन् ।

वामपन्थी शक्तिको आधारभूत चरित्र भनेको प्रतिक्रियावादी सत्ताको विरोधी रहेको हुन्छ । अर्कोतिर लोकतान्त्रिक भनेका शक्तिहरु पनि लोकतान्त्रिक छैनन, र होइनन् । किनकि, उनीहरु निरंकुशताको अभ्यास गर्न चाहन्छन् र गरिरहेका छन् । लोकतान्त्रिक शक्तिको आधारभूत चरित्र भनेको फरक मत वा विचारसहितको राजनीतिक शक्तिलाई प्रतिस्पर्धामा आउन प्रेरित गर्नु, उत्साहित गर्नु र प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु हो ।

वाम र लोकतान्त्रिक भन्नेहरुले भ्रष्ट, तस्कर, माफिया, गुण्डा नाइके, नवधनाढ्य, व्यापारी तथा सम्भ्रान्त दलाल वर्गलाई उम्मेदवार बनाएका छन् । उनीहरुले निर्वाचन जिते भने नेपालै रहने हो कि होइन गम्भीर प्रश्न खडा भएको छ ।

यस्तो स्थितिमा नेकपा (क्रान्तिकारी माओवादी)को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु लिएर निर्वाचनको उपयोग गरिरहेको छ । हामी जनताको घरदैलोमा गएर आफ्ना विचारहरु राखिरहेका छौं । जनताले हाम्रा कुरा सुनेपछि क्रान्तिकारी माओवादी तथा देजमो नै वास्तविक जनताको मुद्दा उठाउने राजनीतिक शक्ति रहेछ भन्ने प्रतिक्रिया दिएका छन् । त्यसैले, जनताको आकर्षण विस्तारै हामीतिर बढ्दै गएको छ ।  (कुराकानीमा आधारित)