देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले गत स्थानीय निकायको निर्वाचनमा ठुला भनिने दलहरु मुख्यत नेपाली कांगे्रस, एमाले र माओवादी केन्द्र सँग कुनै प्रकारको चुनावी तालमेल वा चुनावी गठबन्धन नगर्ने नीति लिएको थियो । अहिले संघीय प्रतिनीधि सभा र प्रदेश सभाको चुनावमा पनि देजमो नेपालले ती पार्टीहरु सँग कुनै प्रकारको चुनावी तालमेल वा चुनावी गठबन्धन नगर्ने नीति लिएको छ । त्यति मात्र होइन राप्रपा र राजपा जस्ता प्रतिगामी पार्टीहरु सँग पनि चुनावी तालमेल वा मोर्चा नबनाउने नीति लिएको छ । देशभक्त जनगणतान्त्रिक मार्चाको यस प्रकारको नीतिको कतिपय क्षेत्र विरोध आलोचना भएको पाइन्छ । वाम गठबन्धनमा जानु पथ्र्यो वा सीट जित्नको लागि कुनै न कुनै शक्ति सँग तालमेल गर्नु पथ्र्यो भन्ने विचारहरु पनि आइरहेका छन् । के यस प्रकारको सोचाई सही हो ? अर्थात देजमो, नेपालको नीति गलत छ ? यस छोटो लेखमा यसै विषयमा चर्चा गरिएको छ ।
मुख्य कुरा पार्टीको सिद्धान्त, नीति, कार्यक्रमलाई पाखा लगाएर केही सीट जित्नको लागि मात्र वा सिद्धान्त, नीति, कार्यक्रमलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि गरिने चुनावी मोर्चा वा गठबन्धन अवसरवादी गठबन्धन वा तालमेल हो । यस्तो प्रकारको चुनावी तालमेल वा गठबन्धन देश र जनताप्रति गदारी हो । यस प्रकारको चुनावी तालमेल वा गठबन्धनले राष्ट्रिय स्वाधिनता र जनहितको पक्षमा काम गदैन । किन भने यसप्रकारको चुनावी गठबन्धन राष्ट्रिय हित र जनहितलाई ध्यानमा राखेर होइन कि सत्ता स्वार्थलाई केन्द्रमा राखेर बनाइएको हुन्छ । अहिलेको कथित वाम गठबन्धन र कथित लोकतान्त्रिक गठबन्धन यस्तै प्रकारको गठबन्धन हो । यो गठबन्धनहरु मध्ये जुन गठबन्धनले जिते पनि राष्ट्रिय स्वाधिनताको रक्षा र आम श्रमिक जनताको पक्षमा केही हुने वाला छैन । ०४६ साल देखि अहिले सम्मको उनीहरुको व्यवहारले यहि कुरा बताउँछ । देजमो, नेपालले यो व्यवस्थालाई प्रतिक्रियावादी व्यवस्था मान्दछ र विद्यमान संविधानलाई त्यस्को केही कुराहरु सकारात्मक भएपनि त्यसको मूल चरित्र जनविरोधी भएको ठहर गरेको छ ।
अहिले पनि राज्यसत्ता, दलाल, नोकरशाही, पुँजिपति र सामन्त वर्गको हातमा छ । देजमो, नेपालले त्यो शोशक वर्गको राज्यसत्तालाई ध्वस्त पारेर जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्य राखेको छ । तर नेपाली कांगे्रस, एमाले र माओवादी केन्द्रले यो प्रतिक्रियावादी व्यवस्थालाई प्रजातान्त्रिक व्यवस्था मान्दछन् । यो प्रतिगामी संविधानलाई संसारकै उत्कृष्ट संविधान भन्दछन् । देजमो, नेपालले यो प्रतिक्रियावादी व्यवस्था र संविधानलाई खारेज गरेर जनताको जनवादी व्यवस्था ल्याउने र जनसंविधान बनाउने लक्ष राख्छ भने वामगठबन्धनमा रहेका शक्तिहरु मुख्यतः एमाले र माओवादी केन्द्र अनि कथित लोकतान्त्रिक गठबन्धनमा रहेका शक्तिहरुले यो संसदीय व्यवस्थालाई टीकाई राख्ने, प्रतिगामी संविधानलाई संशोधन गर्दै प्रतिक्रियावादी राज्य व्यवस्थालाई अझ वलियो बनाउने दिशामा अगाडी बढिरहेको छन् । अहिले उनीहरुले चुनावी मुख्य नारा नै यो प्रतिक्रियावादी संविधानलाई कार्यान्वयन गर्ने कुरा गराई राखेका छन । यस्तो अवस्थामा देजमो, नेपालले ती शक्तिहरु सँग चुनावी गठबन्धन गर्ने भनेको आफ्नो क्रान्तिकारी सिद्धान्त, नीति र कार्यक्रमलाई परित्याग गर्नु हुन्छ । आमूल परिवर्तनको कुरालाई तिलाञ्जली दिनु हुन्छ । त्यसकारण देजमो नेपालले ठूला भनिने र अन्य प्रतिगामी दलहरु प्रति चुनावी मोर्चा नबनाउने जुन नीति लिएको छ त्यो क्रान्तिकारी दृष्टिकोणबाट एकदम सही छ । जहाँ सम्म यो प्रतिक्रियावादी व्यवस्था र संविधानको विरुद्धमा र क्रान्तिको पक्षमा आउने शक्तिहरु छन् उनीहरु सँग चुनावी मोर्चा वा गठबन्धन गराउन सकिने नीति देजमो, नेपालले लिएको छ । यद्यपी व्यवहारमा विविध कारणहरुले मुख्यत अन्य पक्षको ढुलमूले प्रवृविको कारणले त्यस प्रकारको मोर्चा बनाउन सकिएन तर क्रान्तिकारीहरुको बिचमा कार्यगत एकता सहकार्य वा मोर्चा बनाएर जाने नीति कायम छ र त्यो सही नै छ ।
आज देजमो नेपालका उम्मेदवारहरुले आफ्नो साधन स्रोत र शक्तिले भ्याए सम्म यो प्रतिक्रियावादी व्यवस्था, संविधान र यो प्रतिक्रियावादी व्यवस्थालाई सुदृढ गर्न प्रतिस्पर्धा गरिरहेका राजनैतिक शक्तिहरुको विरुद्ध व्यापक रुपमा भण्डाफोर अभियान चलाइरहेका छन् । आम श्रमिक जनताहरुलाई क्रान्तिकारी दृष्टिकोणबाट शिक्षित पार्न प्रयत्न गरिरहेका छन् । क्रान्तिकारी उपभोगको सफलता कति सीट जित्यो वा जितेन भन्ने आधारमा होइन निर्वाचनको माध्यमबाट यो प्रतिक्रियावादी व्यवस्था र त्यसलाई बचाई राख्ने राजनैतिक शक्तिहरुको भण्डाफोर कति गर्न सक्यौं भन्ने कोणबाट हेरिनु पर्दछ । आम श्रमिक जनता सँग हामीले सम्बन्ध कति सुदृढ गर्न सक्यौ ? र संगठन निर्माणको लागि आधारहरु तयार पार्न सक्यौं वा सकेनौ त्यसको आधारमा निर्वाचनको क्रान्तिकारी उपयोगलाई मूल्यांकन गर्न पर्दछ । यो निर्वाचन बहिष्कार गरेको भएपनि त्यसको उद्देश्य यो प्रतिक्रियावादी व्यवस्था र यसलाई टिकाउने राजनैतिक शक्तिहरुको भण्डाफोर गर्नु नै हुन्थ्यो । बहिष्कारको माध्यमबाट भन्दा उपयोगको माध्यमबाट यो व्यवस्था संविधान र प्रतिगामी राजनीतिक शक्तिहरुको भण्डाफोरलाई व्यापक पार्न सकेका छौं । आज हजारौं कार्यकर्ता र सदस्यहरु यो अभियानमा सक्रिय रुपमा लागि रहनु भएको छ ।
आज हामीले भण्डाफोरको अभियान जति लगेका छौं त्यसको महत्व आज भन्दा पनि भोलिका दिनमा झन प्रभावकारी बन्दै जाने छ । आज कैयौं जनतालाई यो प्रतिक्रियावादी व्यवस्थालाई टिकाउने राजनैतिक शक्तिहरु मुख्यत नेपाली कांगे्रस, एमाले र माओवादी केन्द्रले व्यापक भ्रम दिन सफल पनि भएका छन् । किन भने उनीहरुले सत्ता, राज्यको श्रोत, साधन सवै यहि कामको लागि प्रयोग गरिरहेका छन् तर उनीहरुको प्रतिक्रियावादी चरित्रले गर्दा उनीहरुले अहिले जनतालाई दिएको झूठा आस्वाशनहरु पुरा हुने छैन । धनी र गरिवको बिचको खाडल अझ फराकिलो हुँदै जाने छ । अन्याय, अत्याचार, भ्रष्टचार, गरिवी, महंगी, बेरोजगार अझ बढदै जाने कुरा निश्चित छ ।
आम श्रमिक जनताको जीवन स्तर झन खस्कदै जाने छ । यसबेला देजमो नेपालले अहिले भनेका कुराहरु जनताको मनमा अरु गढ्ने छ । जनताको सहानुभूति देजमो नेपालतिर बढेर जानेछ । यसरी चुनावलाई क्रान्तिकारी उपयोग गरेर भण्डाफोर अभियानलाई अहिले जनताको बीचमा लगेको कुरा भोलिमा दिनमा जनताको मन मस्तिष्कमा अरु पर्ने छ । यसरी यो भण्डाफोर अभियानको महत्व भोली झन बढेर जाने छ । यदि हामीले तथाकथित वामगठबन्धन तिर लागेको भए यो भण्डाफोरको काम अलिकति पनि अगाडी वढ्न सक्ने थिएन । हामी एक दुई सीटको गन्तिमा चित्त बुझाउने थियौं र हाम्रो क्रान्तिकारी लाइन पुरै ध्वस्त भएर जान्थ्यो । तर विचारणीय कुरा के छ भने निर्वाचन सम्पन्न भए पछि पनि प्रतिक्रियावादी र अवसरवादीहरुको भण्डाफोर गर्न १ मिनेट पनि कम गर्नु हुन्न । त्यसकारण प्रतिक्रियावादी र अवसरवादी तत्वहरुको भण्डाफोर गरौं भन्ने मूल नारालाई निरन्तर रुपमा अगाडी वढाउनु पर्दछ । यसैमा हाम्रो भविष्य छ ।