झर्रोटर्रो : सुप्रिमोको चुनावी बैठक

झर्रोटर्रो : सुप्रिमोको चुनावी बैठक

चुनाउमा आफ्नो दलले पाएको चालिसे भागमा सबैलाई जिताउनका लागि मिस्टर सुप्रिमोको गुटको बैठक लाजिम्पाटको लालदरबारमा बस्यो । त्यहाँ चुनाउ जित्ने रणनीतिका बारेमा व्यापक विचार विमर्श भयो । सुप्रिमोले चाणक्यका चार नीति लागू गर्ने प्रस्ताव उक्त बैठकमा पेस गरे । सो प्रस्तावलाई सर्वसम्मतीले पारित पनि गरियो । माक्र्सवाद पुरानो, थोत्रो र झुत्रे भइसकेको भन्दै अबको क्रान्ति आर्थिक क्रान्ति भएकाले चाणक्यवाद नै अबको सिद्धान्त बनाउनु पर्ने जिकिर गरे । मालेमावादी सिद्धान्त माओवादीले मात्रै मान्नु पर्ने र आफ्नो पार्टीले क्रमशः माओवाद छोड्दै गएको र नयाँ एमाले बन्दै गरेको हुनाले त्यसलाई मान्न उपयुक्त नभएको ठहर गर्दै अब मालेमावाद मान्ने जिम्मा आफ्ना प्युठानी गुरुको दलको हो भनेर उनैलाई छाडिदिनु पर्ने प्रस्ताव गरे । त्यो कुरालाई पनि कर्तल ध्वनिका साथ पास गरियो । जनयुद्धलाई साङ्ग्यता गरिसकिएको, त्यसका अवशेषहरू पनि समाप्त हुँदै गएको, धेरैजसो तन्नेरी कार्यकर्ता पनि आर्थिक क्रान्ति गर्न खाडितिर हिँडिसकेको, बचेखुचेकाले पनि जग्गा प्लटिङ, ठेकेदारी, गुप्त कारोवारतिर लागेको र नेताहरू पनि शहरतिरै केन्द्रीत भएर विविध धन्दामा लागेको हुनाले आर्थिक क्रान्तिका लागि आधार तयार भएको तर्क प्रस्तुत भयो । त्यसका लागि चाणक्य नीति नै सही भएको ठहर गरियो । अबको चुनाउमा चाणक्यका चार नीति सहित आफ्ना दुईवटा नीति थप गर्नुपर्ने कुरा सुप्रिमोले बताए । उनका दुई नीति भनेको मतगणना बहिष्कार र मतपत्र च्यात्ने नीति हो ।
जनयुद्धका दस वर्षमा आफ्नो नामबाट विकास गरिएको सुप्रिमोपथ खारेज भएको र धनयुद्धका दस वर्षमा विकास भएको सुप्रिमोपथ नै व्यवहारबाट समृद्ध भैसकेको हुनाले यो विचारलाई जोडतोडका साथ लागू गर्नुपर्ने तर्क पेस गरियो । जनयुद्धको सुप्रिमोपथ सफल हुन सकेन तर धनयुद्धका सुप्रिमोपथ त ब्यवहारबाट प्रमाणित भएर आएको छ । त्यसैले अबको सुप्रिमोपथ जनताको बहुदलीय जनवाद र धनवादसँग जोडेर लगिने छ । अबको सिजृनात्मक माक्र्सवाद भनेको जबजवाद–चाणक्यवाद र सुप्रिमोपथ हुनेछ ।
आफ्ना थप दुई नीतिको व्यवहारिक पुष्टि सम्वन्धमा व्याख्या गर्दै उनले भने ‘मने हाम्रो दलले हार्दै जान थालेपछि मतगणना कार्य बहिष्कार गर्नुपर्ने वक्तव्य फालेर हामीले गणनास्थलबाट बाहिरिएपछि दुनियाँ डगमगायो । पश्चिामाहरूको आपतकालिन बैठक बसेर जसरी हुन्च मिस्टर सुप्रिमोलाई संसदमा नछिराउने हो भने बहिष्कारवालातिर मिल्न जान्चन् र फेरि उपद्रो मच्चाउन सक्चन भनेर हामीलाई जिताउने खेलमा लागे । दुईदिन गणना कार्य स्थगन गरेर मतपेटिका इधरउधर पारेर सिराहाबाट हामी मने मलाई जिताइदिए । आर्को कुरा स्थानीय चुनाउमा हाम्री पुत्रीश्रीले चुनाउ हार्ने निश्चित भएपछि दुईजना कर्मठ लडाकु योद्धा कमरेडहरूले च्याचुत पार्नुभो र अदालतले पनि हाम्रै कुरोलाई सदर गर्न बाध्य भयो र फेरि चुनाउ गराएरै हामीले जित्यौँ । यी दुईवटा हाम्रा मौलिक विचार हुन् । लेनिनले भन्नुभएजस्तै ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै हामीले विचारको विकास र ‘क्रान्ति’ सफल गरेका हौँ । त्यसैले यी दुईवटा नीति हाम्रा पुँजी हुन् । समाजवादी क्रान्तिका आधार हुन् । अबको हाम्रो वैचारिक आदर्श भनेको चाणक्यवाद र सुप्रिमोपथ हो ।’
यति प्रस्ताव बैठकमा पेश भएपछि चुनाउ त कसैले भोट हाले पनि नहाले पनि जितिने पक्कापक्की भयो । रह्यो कुरा उमेद्वारको टुङ्गो लाउने । बैठकमा उमेद्वारहरूका बारेमा पनि व्यापक छलफल भयो । कस्ता खाले नेता वा कार्यकर्तालाई उमेद्वार बनाउने त भन्ने जिज्ञासा बैठकमा उत्पन्न भयो । सुप्रिमोले नै निर्णय सुनाए । ‘यसपाला सूर्यछाप दलसँग पार्टी एकता गर्ने योजना सहितको चुनावी दाम्लो बाटिएकाले लरतरालाई उठाउनु हुँदैन । गोजिमा प्रसस्त गाँठ भएका, साम, दाम, दण्ड, भेद र सुप्रिमोपथलाई दह«ोसँग लागू गर्न सक्ने, चुल्ठे, मुन्द्रे, दाह«े नङ्ग्रे जस्ता योद्धा प्रयोग गर्न सक्ने, पुराना पाका, सत्ता चलाउन अभ्यस्त भएकाहरूलाई नै उमेद्वार बनाउनु पर्च । नयाँ अनुहार र तरुनी तन्नेरीहरूलाई उठायौँ भने चुनाउमा नतिजा राम्रो नआउन सक्च । यतिखेर हामीले पाएको चालिसे भागमा धेरैलाई जिताउन सकेनौँ भने भोली सरकारमा मन्त्री पठाउँदा, पार्टी एकता गर्दा नेता छान्दा हामीले सालिसे भाग नपाउन सक्चौँ । त्यसैले यसपालाको समानुपतिकमा पनि पार्टीलाई चन्दासन्दा दिने र प्रत्यक्ष चुनाउमा सीट नापाएका ठूला नेताका श्रीमान् वा श्रीमती र उनका आफन्तहरूलाई सूचिमा राख्नु पर्च । तल्ला तहका कार्यकर्ता नेताहरूको त उमेर छ, भविश्य त उनीहरूकै त हो । हाम्रो उखानै छ ‘युवाहरू भविश्यका कर्णधार हुन्’ । त्यसैले उनीहरूले भविश्यमा उमेद्वारी पाइहाल्चन । यसपाली पुराना पाका, अनुभवि, सत्ता चलाएर गाँठको जोहो गरिसकेकाहरू नै उमेद्वार हुन्चन् । कसैले यो कुराको विरोध गरेर आफ्नै र गठबन्धने दाम्लाका सहयात्री दलका विरुद्ध विद्रोह गरि दागा ध¥यो भने त्यसलाई तत्काल पार्टीबाट निश्काषन गर्नु पर्च । पछि विद्रोहीहरूले नै कथम्कदाचित जितिहाले भने ससम्मान पार्टीमा स्वागत गरिन्च, यदि हारे र हराए भने उनीहरूलाई पार्टीबाट लखेटिन्च ।’
यसरी उमेद्वारका बारेमा सुप्रिमोले निर्णय सुनाएपछि बैठकमा कर्तल ध्वनिका साथ तररर तालि बजाएर समर्थन गरियो । बैठक सकियो । इतिस्कन्धे कार्तिक माहात्म्य सुप्रिमोध्याय शुभम् ।
२६ कात्तिक २०७४

kailubraha73@gmail.com