‘हँसिया हथौडा’लाई‘मुठ्ठी’को चुनौती

‘हँसिया हथौडा’लाई‘मुठ्ठी’को चुनौती

काठमाडौं । दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको नेकपा क्रान्तिकारी माओवादी (तत्कालीन नेकपा–माओवादी) ले यसपटकको निर्वाचनलाई ‘क्रान्तिकारी उपयोग’का रूपमा प्रयोग गर्ने भएको छ । पहिलो संविधानसभामा ‘हँसिया हथौडा’को सारथी बनेको सो पार्टी यसपटक ‘मुठी’ उचालेर तिनै हँसिया हथौडाका सारथीलाई चुनौती दिँदै छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) चुनाव प्रचारप्रसारमा जुटिसकेको छ ।

देशभर उम्मेदवार खडा गरेर चुनावी प्रचारमा जुटेका माओवादी केन्द्रका उम्मेदवारका रूपमा चुनौती थपिएका छन् । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँगै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, माओवादीबाट अलग भएर नयाँ शक्ति नेपाल पार्टी गठन गरेका डा. बाबुराम भट्टराईसम्मलाई देजमोका उम्मेदवार चुनौती बनेका छन् ।

राजधानीमा शनिबार आयोजित चुनावी सभामा बोल्दै क्रान्तिकारी माओवादी महासचिव वैद्यले संसदीय व्यवस्था फाल्न आफूहरू निर्वाचनमा होमिएको प्रस्ट पारे । ‘कांग्रेस, एमाले, माके, राप्रपालगायतका पार्टी पुरानै संसदीय राज्य व्यवस्था र सत्ता मजबुत बनाउन चुनावमा गएका हुन्,’ उनले भने, ‘तर हामी यो राज्य व्यवस्था फाल्न चुनावमा आएको हौं ।’

माओवादी केन्द्र अध्यक्ष उम्मेदवार बनेको चितवन–३ बाट देजमोले पार्टीका पुराना नेता टंकनाथ रेग्मी ‘गोरखाली’लाई मैदानमा उतारेको छ । कुनै समय प्रचण्डलाई अध्यक्षका रूपमा ‘सर्वोच्च नेता’ मानेर राजनीति गरेका गोरखाली उनैविरुद्ध चुनावी प्रचारमा जुटेका छन् ।
‘हिजो हामी प्रचण्डलाई नेता मानेर प्रचण्डपथ नै मान्न तयार भएका हौं, आज उनीविरुद्ध निर्वाचनमा खडा हुनुपर्दा दुःख लागेको छ,’ शहीद परिवारसमेत रहेका गोरखालीले राजधानीसँगको टेलिफोन कुराकानीमा भने, ‘शहीदका अधुरा सपना पूरा गरिएन, क्रान्तिमा बिसर्जनतर्फ लगियो, शहीदका सपना पूरा नहुँदै हतियार बुझाइयो, आज एमालेसँग एकता गर्ने कुरा गर्दै छन् ।’

अब प्रचण्ड क्रान्तिकारी नेता नभएको भन्दै उनले क्रान्तिको झन्डा जोगाउनकै लागि प्रचण्डविरुद्ध चुनावी मैदानमा होमिएको प्रस्ट्याए । जनयुद्धका क्रममा माओवादी बदनाम भएको स्थान बाँदरमुँढे माडीमा घरदैलो गरिरहेका उनले जनताले विकल्प खोजिरहेको बेला आफू खडा भएको बताए ।

२०३६ सालदेखि पञ्चायतविरुद्धको अभियानमा लागेका उनी २०५३ सालदेखि पूर्णकालीन सदस्यका रूपमा माओवादी जनयुद्धमा सहभागी भए । उनी हाल वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी केन्द्रीय सल्लाहकार छन् ।

उता गोरखा–२ बाट माओवादी केन्द्रको ‘हँसिया हथौडा’ र नयाँ शक्तिको ‘आँखा’लाई चुनौती दिन कसिएका छन्, क्रान्तिकारी माओवादीका युवा नेता नारायण अधिकारी । गोरखा, लमजुङ र मनाङ जिल्लाका इन्चार्जसमेत रहेका उनी गोरखामा पुराना नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठविरुद्ध चुनावी मैदानमा छन् ।

यहाँ माओवादी केन्द्रका तर्फबाट श्रेष्ठ र नयाँ शक्तिका संयोजक भट्टराईको द्विपक्षीय भिडन्त हुँदै छ । जिल्लाको अजिरकोट गाउँपालिका स्थानीय अधिकारी दुवै उम्मेदवारका चुनौतीका रूपमा देखिएका छन् । माओवादीको आधार इलाकाका रूपमा रहेको गोरखामा स्थानीय तह निर्वाचनमा कांग्रेस अगाडि आएको थियो ।

२०५२ सालदेखि माओवादी जनयुद्धमा होमिएका अधिकारी स्थानीयस्तरमा चर्चित छन् । गोरखामा ‘आँखा’को र ‘ह“सिया हथौडा’को मत उनले काट्न सक्ने विश्लेषण गरिएको छ । यता माओवादी आधार इलाकाका मानिने रोल्पा माओवादी केन्द्रका वर्षमान पुनलाई चुनौती दिँदै छन्, देजमोका उम्मेदवार कुमार शाह । रोल्पामा विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारी माओवादीको प्रभाव रहेको क्षेत्रमा पुन र शाहको उम्मेदवारी चुनौती बन्न सक्ने देखिएको छ ।

जिल्लाका पुराना नेता तथा इन्चार्जसमेत रहेका शाह क्रान्तिकारी माओवादीभित्रका चर्चित अनुहार हुन् । क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय संयोजक रहिसकेका उनलेअनन्तको मत काट्न सक्ने अनुमान गरिएको छ ।

काठमाडौं–१० बाट देजमोले युवा नेता सुरेशकुमार श्रेष्ठलाई मोर्चामा उतारेको छ । यही क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी अध्यक्ष दाहाललाई जिताउन लागिपरेका उनीहरूले यहाँ यसपटक वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता हितमान शाक्यलाई चुनौती दिँदै छन् ।

ऐतिहासिक क्षेत्र कीर्तिपुरसहितको काठमाडौं–१० मा आफ्नो बलियो पकड रहेको दाबी गर्दै यहाँ आफूहरू रणनीतिक रूपमा जित हात पार्ने देजमोका उम्मेदवारले दाबी गर्दै आएका छन् । देजमोले यस क्षेत्रलाई रणनीतिक रूपमा समेत महत्व दिएका छन् । त्यस्तै वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्र नेता झक्कुप्रसाद सुवेदी निर्वाचनमा होमिएको क्षेत्र काठमाडौं–६ मा देजमोले पार्टी केन्द्रीय सल्लाहकार खगेन्द्र छन्त्याललाई अगाडि सारेको छ ।

काठमाडौं–१ मा माओवादी केन्द्र नेता अनिल शर्मालाई देजमो उम्मेदवार कृष्णभक्त मानन्धरले चुनौती थप्दै छन् । बाग्लुङ–२ बाट देजमोले निलबहादुर पुनलाई चुनावी मैदानमा उतारेको छ । उनी एकता प्रक्रियाबाट तत्कालीन नेकपा एकीकृतबाट आएका हुन् । परी थापाको पकड क्षेत्रका रूपमा रहेको सो क्षेत्रबाट उम्मेदवार बनेका माओवादी केन्द्र नेता देवेन्द्र पौडेलका लागि उनी चुनौती बन्ने देखिन्छन् ।

यसैगरी रूपन्देही–५ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका डिलाराम आचार्यलाई देजमोका ज्ञानेन्द्रप्रसाद पौडेलले चुनौती थप्नेछन् । यी दुवै नेता माओवादी जनयुद्धमा सहभागी नभए पनि सहकर्मी हुन् । उनीहरू यसअघि मसालमा थिए ।

आचार्य नेकपा मसाल हुँदै एकीकृत नेकपा माओवादी र पौडेल नेकपा मसाल, नेकपा एकीकृत हुँदै क्रान्तिकारी माओवादीमा आएका नेता हुन् । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देजमोका अध्यक्ष सीपी गजुरेलले फेरि मुलुकमा दलाल, तस्कर र भ्रष्टाचारीको मात्र संसद्मा बोलवाला हुन लागेको भन्दै कांग्रेस र एमाले नेतृत्वका दुवै गठबन्धनले तस्कर, गुन्डा र भ्रष्टाचारी, दलाललाई उम्मेदवार बनाएको आरोप लगाउँछन् ।

एमाले–माओवादी केन्द्र गठबन्धन नाममा मात्रको वाम गठबन्धन भएको र कांग्रेसको गठबन्धन प्रतिक्रियावादी भएको दाबी गर्दै उनले जनतामाझ क्रान्तिकारी माओवादी विकल्पका रूपमा आएको बताए । देजमो जनगणतन्त्र र संविधान खारेजी मागसहित निर्वाचनमा ‘क्रान्तिकारी उपयोग’ नीति लिएर सहभागि हुँदै छ । (आइतबारको राजधानी दैनिकमा समाचार छापिएको छ)

फासिवादीकरणको दिशामा संसदवादी दल
संसदवादी दलहरुको स्वेच्छाचारिताले मुलुकमा फासिवादको खतरा बढाएर लगेको छ । संसदीय व्यवस्थाका मान्यताहरुकै धज्जी उडाउँदै गरिएका गठबन्धन र बनाइएका निर्वाचन कानुनले संसदीय व्यवस्थाको फासिवादीकरणलाई संकेत गरेको छ । रुपमा वाम र लोकतान्त्रिक गठबन्धन देखिए पनि यी दुवै गठबन्धन संसदीय व्यवस्थाका मतियार हुन् । बहुदलीय संसदीय व्यवस्थाको वकालत गर्ने उनीहरु एक वा दुई दलीय प्रणालीमा मुलुकलाई लगेर प्रतिपक्षविहीन निरंकुश सत्ताको अभ्यास गर्न खोजिरहेका छन् ।