मकवानपुर । पछिल्लो समयमा नेकपा (क्रान्तिकारी माओवादी)मा ध्रुवीकरणको लहर विस्तारै बढ्दै गएको छ । नयाँ जनवादी क्रान्तिको तयारीमा रहेको क्रान्तिकारी माओवादीमा युवाहरुको आकर्षण विस्तारै बढ्दै जान थालेको छ । पूर्व जनमुक्ति सेना, विभिन्न राजनीतिक पार्टीमा रहेका युवाहरु तथा स्वतन्त्र बसेका युवाहरु ध्रुवीकृत हुँदै गएका छन् ।
हामीलाई प्राप्त जानकारी अनुसार केही समयअघि २४ जना युवाहरु प्रवेश गरेको क्रान्तिकारी माओवादी मकवानपुरमा पुनः शनिबार विभिन्न राजनीतिक पार्टीमा आवद्ध युवाहरु प्रवेश गरेका छन् । क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज बसन्त बोगटीका अनुसार जिल्लाको राक्सिराङ्ग गाउँपालिकामा कमरेड विशाल र मनहरी गाउँपालिकामा राप्रपा जिल्ला नेता खड्ग मोक्तानको नेतृत्वमा दर्जनौं युवाहरु क्रान्तिकारी माओवादीमा ध्रुवीकृत भएका छन् ।
यसैबीच, काठमाडौं–१०, सतुङ्गलमा शनिबार भएको कार्यक्रममा तीन जना वामपन्थी युवाहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ अवीर लगाएर पार्टी प्रवेश गराउनु भयो ।
त्यस्तै पूर्व जनमुक्ति सेना, नेकपा, एमाले र माके परित्याग गरी बर्दियामा क्रान्तिकारी माओवादीमा प्रवेश गरेको खबर छ । विस्तृत विवरण भने आउन बाँकी छ ।






























