काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले बुधबार काठमाडौंमा चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता एवं मोर्चाका अध्यक्ष सीपी गजुरेलले घोषणा–पत्र सार्वजनिक गर्दै भने, “कसैले माने पनि नमाने पनि हामी नेपाली राजनीतिको वैकल्पिक शक्ति हौं, भइसक्यौं ।”
१४ पृष्ठ लामो घोषणा–पत्र जारी गर्दै अध्यक्ष गजुरेलले देजमोका उम्मदेवारहरु वर्तमान संसदीय व्यवस्थामा सुखभोग गर्न जान लागेको नभएर संसदीय व्यवस्थामा हुने र गरिने राष्ट्रघात र जनघातको भण्डाफोर गर्न जाने र यो व्यवस्थाबाट जनताको हित हुँदैन, त्यसका लागि नयाँ जनवादी राज्यव्यवस्था नै आवश्यक रहेको कुरामाथि जोड दिनुभयो ।
घोषणापत्रमा प्रमुख भनिएका राजनीतिक दल र सरकारको राजनीतिलाई भण्डाफोर गर्ने मूल नीति लिइएको छ भने ‘यथास्थितिवादी’ दलहरू चुनावपछि पनि नसच्चिने भन्दै अब मुलुकको वैकल्पिक शक्ति क्रान्तिकारी माओवादी नै भएको दावी घोषणा–पत्रमा गरिएको छ । अहिलेको संघीय संरचना गलत भएको उल्लेख गर्दै उत्कृष्ट भनिएको संविधान अपूरो रहेको तथा परराष्ट्रनीति पञ्चशीलको आधारमा हुनुपर्ने सर्वमान्य मान्यता कुल्चिइरहेको स्थितिप्रति समेत संविधान मौन रहेको उल्लेख छ ।
मुलकलाई स्वतन्त्र र समृद्ध बनाउन १९५० को असमान सन्धि र बिप्पा खोरज, भ्रष्टाचारीमाथि कारबाही गर्न सशक्त काननु बनाउने, १२ कक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्ने, हरेक प्रदेशमा ‘रेफरल’ अस्पताल स्थापना गर्ने, वैज्ञानिक भूमिसुधार लागू गर्नेलगायतका प्रतिबद्धता देजमोले घोषणा–पत्रमा उल्लेख गरेको छ ।
नेपाली क्रान्ति अधुरै रहेकाले जनताले नेपालमा अझै क्रान्तिको आवाश्यक्ता रहेको महशुस गरिरहेको बताउँदै अध्यक्ष गजुरेलले क्रान्तिको नेतृत्व क्रान्तिकारी माओवादी र मोर्चाले गर्ने बताउनुभयो ।




























