काठमाडौँ । काठमाडौंको कमलादीमा गोली चलाउने तीन जना भारतीय व्यवसायिक सुटर हतियारसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुले कमलादी क्षेत्रमा बुधबार साँझ एक राउण्ड गोली चलाएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले गोली चलेको पुष्टि गरेका छन् ।
उनका अनुसार घटनास्थलबाट तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिंह रहेका छन् ।
कमलादीस्थित हेरिटेज प्लाजाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट ४ वटा म्यागजिन समेत फेला परेको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरुले प्लाजाको एक रेस्टुरेन्टमा खाएको बिल धेरै आएको भन्दै वादविवाद हुने क्रममा गोली चलाएका थिए । तर कोही पनि घाइते भएका छैनन् ।
उनीहरु मंगलबार मात्र सुनवल नाकाबाट काठमाडौँ भित्रिएका उनीहरु कुन प्रयोजनले नेपालमा हतियार र ठूलो परिमाणको गोली बोकेर आएक हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंकामा अनुसन्धान गरिरहेको छ ।