काठमाडौं, १५ कार्तिक । नेकपा (क्रान्तिकारी माओवादी) निकट सामना सांस्कृतिक परिवारका संयोजक असल पाख्रिनका पिता सन्चारमान पाख्रिनको असामयिक निधन भएकाे दुःखद घडीमा उहाँको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाउदै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । शोकसंन्तप्त परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।

काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–२ फलामेटार निवासी दिवंगत पाख्रिन पेटको आमाशयको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँकोे उपचारको क्रममा बुधबार बिहान ९ः२० मा बीर अस्पतालमा निधन भएको थियो । उहाँको अन्तिम संस्कार बौद्ध परम्परा अनुसार स्वयम्भूमा गरिएको छ ।

स्वयम्भूमै आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य दिदैं महासचिव किरणले भन्नुभयो, ‘नेपालमा क्रान्ति र मुक्तिको लागि उहाँले देखेको जनवाद, समाजवाद र साम्यवादको सपना पुरा गर्न हामी अविचलित रुपमा लागिरहने छौं ।’

पार्टी महासचिव किरण लगायत नेता रामसिंह श्रीस, दिनेश शर्मा ‘सागर’, सिताराम तामाङ, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष ईश्वर चन्द्र ज्ञवाली लगायतका नेताहरु पाख्रिनप्रति अन्तिम श्रद्धाञ्जलीको लागि स्वयम्भू पुगेका थिए । दिवंगत पाख्रिनका चार छोरा र तीन छोरी रहेका छन् । ५४ वर्षको उमेरमा क्यान्सर रोगबाट पराजित भएका पाख्रिन जनयुद्धकाल देखि नै माओवादी आन्दोलनमा सक्रिय रहदै आउनु भएको थियो । असल पाख्रिन उहाँका जेठा सुपुत्र हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर