बालकृष्ण ढुंगेललाई तत्काल जेलमुक्त गर : क्रान्तिकारी माओवादी

बालकृष्ण ढुंगेललाई तत्काल जेलमुक्त गर : क्रान्तिकारी माओवादी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गर्दै बालकृष्ण ढुंगेललाई जेलमुक्त गर्न सरकारसित जोडदार माग गरेको छ । पार्टीका महासचिवले बुधबार वक्तव्य जारी गर्दै भनेका छन्, “पार्टी जनयुद्धकालीन मुद्दाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगद्वारा समाधान गर्न र क. बालकृष्ण ढुङगेललाई तत्काल जेलबाट मुक्त गर्नका लागि सरकारसित जोडदार माग गर्दछ ।”

वक्तव्यमा अगाडि भनिएको छ, “जनयुद्धकालीन मुद्दाहरुको समाधान सत्यनिरुपण तथा मेलमिलाप आयोगद्वारा गरिने सम्झौता भएकोमा त्यसको निर्लज्ज रुपमा उल्लंघन भएको छ र यसलाई पार्टी निन्दनीय ठान्दछ ।” क्रान्तिकारी माओवादीले शान्ति सम्झौता उल्लंघनको परिणाम भविष्यमा निकै गंभीर हुनेछ पनि चेतावानी दिएको छ । यस निम्ति सो सम्झौतामा हस्ताक्षरगर्ने दुवै पक्षको नेतृत्व जिम्मेवार तथा जबाफदेही रहेको कुरा पनि स्पष्ट पारेको छ ।

बालकृष्ण ढुंगेललाई मंगलबार विहान ललितपुरको सातदोबाटोबाट गिरफ्तार गरी देउवा सरकारले जेल चलान गरिसकेको छ । ढुंगेल गिरफ्तारीको चौतर्फी रुपमा चर्को विरोध भइरहेको छ । माके अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको भने यस विषयमा स्पष्ट भनाइहरु बाहिर आएका छैनन् ।

ढुङ्गेलले अब १२ बर्ष ५ महिना २२ दिन जेल सञ्जाय भुक्तानी गर्नुपर्ने जनाइएको छ । ढुङ्गेलले यसअघि ओखलढुङ्गा जिल्ला अदालतको फैसलापछि ७ बर्ष ६ महिना ८ दिन जेल सञ्जाय भोगिसकेका छन् ।