काठमाडौं, १५ । अन्तिम तयारी भइसकेको नेपाल–चीन जोड्ने स्थल केबुल मार्ग (इन्टरनेट) को व्यावसायिक सञ्चालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ । गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यावसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो ।

नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै टेलिकमले चाइना टेलिकमलाई व्यावसायिक थालनी गर्न गत हप्ता पत्राचार गरेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए । ‘हाम्रोतर्फबाट तयारी पूरा गरी गत हप्ताको अन्त्यतिर चाइना टेलिकमलाई पत्राचार गरिसकेका छौं,’ अधिकारीले भने, ‘उसको स्वीकृतिपछि व्यवसायी सुरुवात गर्न बाटो खुल्ने छ ।’

नेपालले चाइना रुटको व्यावसायिक सुरुवात गर्न चाइना टेलिकमले पनि तयारी पूरा भएको जानकारी सहित स्वीकृति दिनु पर्नेछ । यही स्वीकृतिका लागि टेलिकमले पत्राचार गरेको हो । रुटको काम सकिएर त्यसको टेस्टिङ भइरहेको छ । टेस्टिङपछि त्यसलाई व्यावसायिक सुरुवात गर्न लागिएको हो । रि–रुट गरेर अन्तिम तयारी गरेको टेलिकमले कात्तिकको तेस्रो सातासम्ममा व्यावसायिक सुरुवात गर्ने समयसीमा तोकेको थियो ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल(सिटिजी)बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थल केबुल मार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने विषयमा गत वर्ष मंसिरमा सम्झौता भएको थियो ।

चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने टेलिकमले जनाएको छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्रा्ष्ट्रिय अन्तरआबद्धताका लागि यो अर्को महत्वपूर्र्ण र समानान्तर विकल्प हुनेछ ।

यसअघि नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएको थियो । अब चिनियाँ बाटोबाट समेत नेपाल अन्तर्राष्ट्रिय इन्टरनेटमा आवद्ध हुनेछ ।

भारतबाहेक चीनतिरको वैकल्पिक रुट थप भएपछि यसबाट टेलिकमले लाभ लिन सक्ने विश्वास लिइएको छ । चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।

चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार गर्दै नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । भारतबाहेकको वैकल्पिक रुट खोलिएपछि मुलुकमा उपलब्ध हुने इन्टरनेटको गुणस्तर र मूल्यमा समेत ग्राहकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

व्यावसायिक सुरुवात नै गर्न बाँकी रहेकाले अहिलेले मूल्यका विषयमा केही भन्न नसकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी गराइन् । ‘व्यावसायिक सुरुवात गर्नै बाँकी छ,’ वैद्यले भनिन्, ‘सस्तो हुने, नहुने विषयमा भने अहिले केही भन्न सकिँदैन ।’ चीनतर्फको रुट नेपालको लागि वैकल्पिक मार्गका रुपमा आएकोले यसले सकारात्मक प्रभाव पार्ने वैद्यको भनाइ छ ।

नेपालतर्फ धादिङको गल्छीदेखि रसुवासम्म झन्डै ९० किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । चीनतर्फको अप्टिकल फाइबरको काम चीनले नै गरिसकेको थियो ।

व्यावसायिक सम्झौता भएको तीन महिना फागुनको अन्ततिर काम सक्ने लक्ष्य राखिएको थियो । तर पहिरोले अप्टिकल फाइबरमा क्षति र्पुयाएकोले ढिला हुन पुगेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार केरुङ र रसुवागढीको बीचमा बिछ्याइएको फाइबरमा पहिरोले क्षति पु¥याएको थियो । उक्त क्षेत्र र अन्य केही भागमा समेत रि–रुटसहित स्तरोन्नति गरेपछि इन्टरेट चलाउन लागिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर