आठ महिनाको अन्तरालमा ६५ कैदीबन्दीको मृत्यु

आठ महिनाको अन्तरालमा ६५ कैदीबन्दीको मृत्यु

काठमाडौं, १५ । नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ । कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार वि.सं. २०७३ फागुनदेखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । विभागले २०७३ फागुन २६ गतेदेखि मात्र मृत्यु भएका कैदीबन्दीको विवरण राख्न सुरु गरेको हो ।

केन्द्रीय कारागार, जगन्नाथ देवलमा १३, सुनसरीको झुम्का कारागारमा नौ, जिल्ला कारागार चितवनमा आठ, मोरङ कारागारमा सात, बर्दियामा दुई, नख्खुमा दुई, इलाममा दुई, महोत्तरीमा दुई, संखुवासभा दुई, झापा दुई, म्याग्दी एक, डिल्लीबजारमा एक, गोरखा एक, पर्सामा एक र प्यूठानमा एकजनाको मृत्यु भएको छ ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले अधिकांश कैदीबन्दीको बिरामी भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरेर उपचार गर्दागर्दै मृत्यु भएको जानकारी दिए ।

मृत्यु भएका ६५ जनामध्ये एक जनाकोमात्र बन्दीगृहभित्र मृत्यु भएको विभागले जनाएको छ । हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजार कैदीबन्दी छन् ।