
काठमाडौं, १२ । निर्वाचन आयोगले सर्वोच्चको आदेश पाएसँगै मतपत्र छपाइको काम रोकेको छ । गत बुधबार सर्वोच्च अदालतले दिएको आदेश शनिबार प्राप्त भएपछि आयोगको शुक्रबारदेखि सुरु गर्ने भन्दै प्रक्रिया अगाडि बढाएको छपाइको काम स्थगित भएको हो ।
‘डिजाइनको काम त चलिरहेकै छ । तर छपाइको काम अघि बढेको छैन,’ निर्वाचन आयोगका एक अधिकारीले भने, ‘सर्वोच्च अदालतको आदेश निर्वाचन आयोगमा प्राप्त भएपछि आयोगको बैठक आज बसेको छ ।’ उनले आजै साँझसम्म सर्वोच्चको आदेशको जवाफ के दिने र छपाइका विषयमा के निर्णय गर्ने भन्ने टुंगो लाग्छ ।
निर्वाचन आयोगको बैठक अहिले जारी छ । आयोगले आजै सर्वोच्चलाई दिने जवाफ र मतपत्र छपाईलाई जारी राख्ने वा सर्वोच्चको आदेशका आधारमा दुईवटा छाप्ने सम्बन्धमा निर्णय गर्ने छ ।
शुक्रबारदेखि मतपत्र छपाइ सुरु गर्ने घोषणा गरेका प्रमुख आयुक्त डाक्टर अयोधीप्रसाद यादवले साँझ जनकशिक्षा सामग्री केन्द्रमा पुगेर शुभारम्भ नैं भएको घोषणा गरेका थिए । स्रोतका अनुसार प्रमुख आयुक्त यादवले बाहिर भनेजस्तो मतपत्र छपाइको काम शुभारम्भ नगरेर जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा नमुना मतपत्र छपाइको काम मात्र शुभारम्भ गरेका थिए ।
शुक्रबार प्रमुख आयुक्त यादवले सुरक्षा निकायलाई निर्वाचन सुरक्षा तालिम उद्घाटनमा मतपत्र त्यही दिन छाप्न थालिने घोषणा गरेका थिए भने दिउँसो रिपोर्टर्स क्लव पुगेर छपाई सुरु भइसकेको बताएका थिए । साँझ भने आफूले शुभारम्भ गरेको भन्दै मिडियासँग प्रतिक्रिया दिएका थिए ।





























