यतिखेर केन्द्रीय संसद र प्रदेश संसदको चुनाउ हुन लागेको छ । अहिलेको संविधान लेखेका मुखियाहरू आफैँले लेखेको संविधानबाट आतङ्कित भएर आआफ्ना जातभात, थरगोत्र र कुलकुलायन मिल्नेहरूका बिचमा गठबन्धन बनाएका छन् । एउटा चारतारे दलको मियोमा लोकतन्त्रे गठबन्धन र अर्को सूर्यछापको मियोमा बामपन्थे गठबन्धन बनेको छ । गठबन्धे तौल अन्सार चुनाउमा सीटको भागबण्डा लगाएका छन् । यसरी गठबन्धन बनाउँदा पनि चुनाउ जित्ने दलका कार्यकर्ता नेताप्रति विश्वास नभएर जित्न सक्ने उमेद्वार खोज्दै जाँदा ठूला ठूला राष्ट्रिय स्तरका डन र तस्करहरू पनि छानेका छन् । उनीहरूको घोषणा पत्र पनि त्यस्तै प्रकारको छ । उनीहरूको घोषणा पत्रको साझा अबधारणाहरूको सारसङ्क्षेप यस प्रकार छ –
‘हाम्रो गठबन्धनले यो चुनाउमा निम्नानुसारको प्रतिवद्धताको घोषणा गर्दछ ।
१. सर्ब प्रथम हाम्रो गठबन्धनमा आउने दलहरूलाई दुबै तहको चुनाउमा साठी चालिसको भाग लगाइने छ । यो नीति दल एकता गर्दा नेता छान्ने मुद्दामा पनि लागू हुने छ । भूरेभारे दलहरूलाई ठूला दलले अनुदानमा दिएका सीटमा चित्त बुझाउनु पर्ने छ ।
२. चुनाउमा उमेद्वार उठाउँदा प्रसस्त पैसा खर्च गर्न सक्ने, डनहरू परिचालन गर्न सक्ने र रैतीहरूलाई भोजभतेरमा लठ्याएर भोट तान्न सक्ने, थोकमा भोट खसाल्ने चुल्ठे मुन्द्रे परिचालन गर्न सक्ने हुति भएका, चुनाउ जितेपछि दललाई प्रसस्त पैसा कमाएर दिन सक्ने, विदेशी प्रभुहरूको इसाराअन्सार चल्न सक्ने, सोहीअन्सार उनीहरूका फाइल सदर गराउन भूमिका खेल्नेलाई प्राथमिकता दिइने छ ।
३. दलको स्वार्थअन्सार संविधान संसोधन गर्नु परेमा, सरकार फेरवदल गर्नु परेमा दलले अह«नखटन गरेअन्सार खुरुखुरु सहीछाप ठोक्ने उमेद्वार हुनुपर्ने छ ।
४. संसद विकास कोषवापत वितरण गरिने बजेट आफूखुसी संसदहरूले वितरण गर्ने छैनन् । स्थानीय पार्टी नेताहरूले बाँडेको आधारमा विकासे फाइल सदर गरी उक्त रकम आआफ्ना दलका लठ्ठेमुङ्ग्रे, चुल्ठेचौँठे र हनुमानहरूलाई वितरण गरिने छ ।
५. मन्त्री तथा सांसदहरूले स्वकीय सचिव र कर्मचारीहरू राख्दा पहिलो प्राथमिकतामा लोग्नेको स्वास्नी र स्वास्नीको लोग्ने, त्यसपछि छोराछोरी, भाइभतिजा, भान्जाभान्जी, सालासाली, ज्वाईं, बुहारी र त्यसउप्रान्त सुमेरु पर्वत घुम्ने कार्यकर्ताहरूको चयन गरिने छ ।
६. मन्त्रीमण्डल बनाउँदा सबै गुटको प्रतिनिधित्व हुने गरी हरेक पुराना मन्त्रीमण्डलको रेकर्ड तोड्दै नयाँ नयाँ इतिहास रच्ने र गिनिज बुकमा रेकर्ड राख्ने गरी जतिसक्यो जम्बो बनाएर देशको शीर सगरमाथा भन्दा उँचो राख्ने गरी बनाइने छ ।
७. मन्त्रीहरूलाई मन्त्रालय नपुग भएको खण्डमा आवश्यक्ताका आधारमा नयाँ मन्त्रालय थप गरिने छ ।
८. माथि र तल दुबै तहका सरकारका भिआइपिहरूका साथै मन्त्री र सांसदहरूको समेत आजिवन सुविधाको व्यवस्था गर्न संविधान संसोधन गरिने छ ।
९. सरकार निर्माण गर्दा र संविधान संसोधन गर्दा विगतमा संसदमा धेरै दल भएर अप्ठ्यारो परेको हुनाले अव उप्रान्त दुईदलीय सिस्टम लागू गर्न अन्य सानातिना भुरेभारे दलहरूलाई संविधानमै नियोजन गरिने छ र निर्वाचन आयोगलाई त्यस्ता दल दर्ता नगर्न कडा निर्देशन दिइने छ । यदि खुलिहालेमा प्रतिवन्ध लगाई पूँजीवादी प्रजातन्त्र र लोकतन्त्रको सम्मान गर्दै प्रभुहरूको आदेश पालना गरिने छ ।
१०. विकासे बजेट लागू गर्दा विगत पञ्चप्रेतका पालादेखि कायम भइआएको विधि असारमसान्तमा सक्ने कुरालाई कायम राख्दै अझ त्यसलाई परिमार्जन गर्दै ठेकेदार कम्पनी दलभित्रबाटै खोलिने छ । बाहिर भएका कम्पनी मालिकहरूलाई पनि दलभित्रै छिराउने र डनहरू सरकार र संसदमै रहने हुनाले कागजमै मिलाएर बजेट फ्रिज हुन नदिने व्यवस्था गरिने छ ।’
उपर्युल्लिखित प्रतिवद्धताहरू यस चुनाउका सन्दर्भमा निर्माण भएका दुबै पक्षका गठबन्धनीय दलहरूका घोषणा पत्रबाट लिइएका साझा अवधारणाहरू हुन् । यिनै अवधारणाका आधारमा गठबन्धनीय दलहरूलाई रैती मनुखेहरूले भोट हाल्नु पर्ने छ ।
१२ कात्तिक २०७४