काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले आइतबार एक समवेदना सन्देश जारी गर्दै ३१ जनाको ज्यान जाने गरी भएको त्रिशुली बस दुर्घटनाबाट मोर्चा मर्माहत भएको उल्लेख गरेका छन् । समवेदना सन्देशमा भनिएको छ, “धादिङ जिल्लाको गजुरी नजिकै सप्तरीको राजविराजबाट काठमाडौं आइरहेको बस कात्तिक ११ गते विहान दुर्घटना हुँदा ३१ जनाको ज्यान गएको, १६ जना घाइते र केही बेपत्ता भएको खबरले हामीलाई मर्माहत तुल्याएको छ । यो दुःखद् घटनामा ज्यान गुमाउनु हुने सम्पूर्ण दिदीबहिनी, दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वहाँहरुको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।”
अध्यक्ष गजुरेलले जारी गरेको समवेदना सन्देशमा घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै अगाडि भनिएको छ, “सरकार र चालकको लापरवाहीबाट यो दुर्घटना भएको जुन विषय बाहिर आएको छ, यो निकै गम्भीर छ र सरकारले यसको पूर्ण रुपमा जिम्मेवारी लिनु पर्दछ ।”
उक्त सन्देशमा घाइतेहरुको सरकारले निःशुल्क उपचार गर्न र ज्यान गुमाउनु भएका परिवारहरुलाई अबिलम्ब राहत उपलब्ध गराउन पनि सरकारसँग जोडदार माग गरिएको छ ।