काठमाडौं, ७ । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाले पश्चिम नेपालका विभिन्न जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा बीटीएस टावर स्थापना गरी मोबाइल सेवा प्रदान गरेको छ । चाडपर्वलाई लक्षित गर्दै पश्चिम नेपालका विभिन्न ग्रामीण क्षेत्रमा बीटीएस टावर स्थापना गर्दै सर्वसाधारणलाई निःशुल्क सिम कार्डसमेत वितरण गरेको छ ।
चाडपर्वका बेलामा नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण गर्दा पश्चिम नेपालका हजारौं सर्वसाधारण लाभान्वित भएको क्षेत्रीय कार्यालयका उपनिर्देशक बृजेश शर्माले जनाए । कार्यालयले टेलिफोनको कुनै पनि सेवाहरू नपुगेको र कुनै पनि अन्य कम्पनीहरूले सेवा नदिएका स्थानमा आवश्यक मोबाइल बीटीएस टावर स्थापना गरी सिमकार्ड वितरण गरेको हो । बीटीएस छ टावर स्थापनाले त्यसक्षेत्रमा सेवाहरू थप गुणस्तरीयसमेत भएका छन् ।
कार्यालयले धौलागिरि अञ्चलको अति दुर्गम स्थानहरू बाग्लुङको निसी, बोहरा गाउँ, तामा दाना, म्याग्दीको दाना, र पर्वतको थापाथानमा मोबाइल टावर स्थापना गरी त्यहाँका जनताहरूलाई निःशुल्क सिमकार्ड वितरण कार्य सम्पन्न गरेको क्षेत्रीय कार्यालयका सहायक व्यापार अधिकृत रामप्रसाद खनालले जनाए । खनालकाअनुसार ती स्थानहरूमा १० हजार बढी निःशुल्क सिमकार्ड वितरण भएको छ ।
क्षेत्रीय कार्यालयले लुम्बिनी अञ्चलका अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा पनि निःशुल्क सिमकार्ड वितरण गरेको छ । अर्घाखाँचीको सिमलपानी, पाल्पाको कचल र डेढगाउँ तथा गुल्मीको सिमलटारीमा पनि मोबाइल टावर जडान गरी त्यहाँका जनताहरूको घर आँगनमै पुगी निःशुल्क सिम वितरण गरेको हो ।
चाडपर्वका बेलामा घर आँगनमै टावर स्थापना गरी निःशुल्क सिमकार्ड वितरण गरी ठूलो सेवा टेलिकमले आफूहरूलाई उपलब्ध गराएको कचलका स्थानीय शिक्षक शालिकराम पौडेलले बताए । नेपाल टेलिकम पाल्पाका प्रमुख सन्तोष शर्माले करिब ३ हजार सिमकार्ड निःशुल्क वितरण भएको र जिल्लाका अन्य दुर्गम स्थानमा समेत आवश्यकता हेरेर टावर स्थापना गरी सेवा विस्तार गरिने बताए ।
उता कार्यालयले निटक भविष्यमा सञ्चालन गर्ने गरी सल्यान, सुखौरा, म्याग्दीको ओखरकोट, अपर मुस्ताङ, स्यांगबोचे भ्यू–पोइन्ट तथा लोमान्थाङमा पनि सेवा विस्तार गर्ने तयारी भइरहेको नेपाल टेलिकम बाग्लुङ कार्यालयका प्रमुख केशव शर्माले बताए ।
क्षेत्रीय निर्देशनालय भैरहवाका निर्देशक विभाषकुमार गुप्ताको पश्चिमाञ्चलका ग्रामीण क्षेत्रमा अनुगमनपछि टेलिफोन सेवाबाट बञ्चित भएका स्थानहरूमा प्राथमिकता हेरी टेलिफोन टावर जडान गर्दै सेवा विस्तार गर्ने विशेष पहलसँगै ग्रामीण भेगमा टेलिफोन सेवा र निःशुल्क सिम वितरण भएको हो । यस क्षेत्रमा टेलिकमले मोबाइलको गुणस्तर बढाउने कार्यमा समेत ध्यान दिएको निर्देशक गुप्ताले जनाए ।
पश्चिम क्षेत्रको सबै भागमा मोबाइल सम्पर्क गर्ने गराउने कार्यका लागि नयाँ टावर जडान गर्ने, सर्भे गर्ने अप्टिमाइजेसन गर्ने जस्ता कार्यहरू भइरहेको क्षेत्रीय कार्यालयका मोबाइल शाखाका इन्चार्ज सुरेन्द्रराज गौतमले जनाए ।





























