काठमाडौं, ३१ । तिहार नजिकिएसँगै भक्तपुरका ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमलीको माला उन्न र बजार लान केटाकेटी, महिला र पुरुषलाई भ्याइनभ्याई भएको हो ।
आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई तिहारमा भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताए । उनीहरुले अहिले १० रोपनी जग्गामा मखमली फूलखेती गर्ने गरेका छन् । वैशाख–जेठमा छर्ने मखमली फूल साउनदेखि फूल्न थाल्छ ।
स्थानीयवासी कर्णबहादुर वनमाला फूलबाट मनग्य आम्दानी भएपछि मखमली फूलखेतीतर्फ आकर्षित भएको बताउछन् । उनीहरुले तिहारमा फूल बेचेर एक लाखदेखि आठ लाखसम्म कमाउने गरेका छन् । बिहानमा फूल टिप्ने र दिनभरी माला गाँस्ने गरेको अम्बिका वनमाले बताए । अहिले मखमली फूलको माला १०० रुपैयाँ सम्ममा बिक्री हुन्छ । अहिले कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोकदेखि पूर्वमा काभ्रेको विभिन्न ठाउँमा समेत यहाँका फूलको माला बिक्री हुन्छ ।
जिल्लामा ताथलीलगायत गुण्डु, कटुञ्जे, छालिङ, दधिकोट, सिपाडोल, बालकोटमा व्यावसायिक मखमली र सयपत्री फूलखेती गरिँदै आएको छ । एक रोपनी खेतको भाडा ६ हजारदेखि १० हजार तिर्ने किसानले एक रोपनी जग्गामा फूलबाट ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।