काठमाडौं । सत्तारुढ कांग्रेस र विपक्षी एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गुण्डा नाइकेदेखि सुन तस्करसम्मलाई उम्मेदवार बनाएका छन् । हत्या, अपहरण, बलात्कार, लुटपाटका घटनामा पटक पटक पक्राउ पर्दै राजनीतिक दबाबमा छुट्दै आएका कुख्यात गुण्डा नाइके दिपक मनाङ्गेलाई केपी ओलीले एमाले भित्र्याए । र, समानुपातिक उमेदवारको सूचिमा उनको नाम सिफारिश गरियो ।
यता सोमबार मात्र प्रधानमन्त्री देउवा निवास वालुवाटारको एक औपचारिक कार्यक्रममा अर्का गुण्डा नाइके गणेश लामा देखिए । फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबिच भएको पार्टी एकता कार्यक्रममा गुण्डा नाइके भनेर चिनिएका लामा प्रधानमन्त्रीसँगै देखिएका थिए । उनी पनि उम्मेदवारकै सूचिमा छन् ।
त्यस्तै नेपाली कांग्रेसको प्रदेश सभातर्फ समानुपातिकको सूचीमा सुन तस्कर मनबहादुर तामाङ जो ८८ केजी सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए, को नाम बन्दसूचिमा पारिएको छ ।
छोटो समयमै अकुत सम्पत्ति आर्जन गरेका उनी केही समययता प्रहरी निगरानीमा थिए । उनलाई काँग्रेसले प्रदेश नं. २ का लागि प्रदेश सभामा समानुपतिक उम्मेदवारको सूचिमा राखेको हो ।
प्रहरी स्रोतका अनुसार उनी व्यापारको साथै चीन र भारतमा अवैध सामग्री ओसारपसारमा समेत संलग्न छन् । भारतबाट रक्तचन्दन चीन लैजाने, चीनबाट अवैध रुपमा सुन ल्याएर भारत पु¥याउने र नेपालका पुरातात्विक मूर्ति तस्करी गरी चीन पु¥याउने कार्यमा उनी संलग्न रहेको प्रहरी स्रोतको दाबी छ ।