भवन भट्ट बने एनआरएनको अध्यक्ष

भवन भट्ट बने एनआरएनको अध्यक्ष

काठमाडौं । एनआरएनको काठमाडौंमा भएको आठौ महाधिवेशका प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भवन भट्ट विजयी भएका छन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए ।

अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने बताएका छन् ।
एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत ऐजेन्डाहरु समेत अघि बढाउने उनले प्रतिबद्धता जनाएका छन् ।

दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएकी छन् । उनको रञ्जु थापासँग प्रतिस्पर्धा भएको हो । महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा पुनः डा. बद्रि केसी निर्वाचित भएका छन् ।

६ जना उमेदेवारबीच दुुई सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा पुनस् हिक्मतबहादुर थापा बिजयी भएका छन् । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।
महिला संयोजकमा भूमादेवी लिम्बु ले जितेकी छन् भने युवा संयोजकमा सुदन थापा निर्वाचित भए ।

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र छ वटा क्षेत्रीय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्यबस्था छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए । ७८ वटा मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको एनआरएनको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुँदै आएको छ ।