पोखरा । नेकपा (क्रान्तिकारी माओवादी)को २०७४ असोज २२ देखि २६ सम्म सम्पन्न भएको प्रथम राष्ट्रिय सम्मेलनले साम्राज्यवादी मुलुक अमेरिकाले उत्पीडित राष्ट्रहरु उत्तर कोरिया, भेनेजुयलालगायतका राष्ट्रहरुमाथि देखाउँदै आएको दादागिरीको घोर भत्र्सना गरेको छ । क्रान्तिकारी माओवादीले भारतमा संचालित भाकपा (माओवादी) नेतृत्वको जनयुद्धका विरुद्ध त्यहाँको सरकारले गरेको दमनको पनि घोर विरोध गरेको छ भने आणविक हतियार विहिनताको सुरुवात कोरियाबाट होइन, अमेरिकाबाट सुरु गरिनु पर्ने पनि उसले आफ्नो धारणा सार्वजनिक गरेको छ । सम्मेलनद्वारा पारित १२ बुँदे समसामयिक प्रस्ताव यस्तो रहेको छ ः
१. यही २०७४ आश्विन १९ गते निर्वाचन आयोगले संघीय र प्रादेशिक निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था गरेको छ । यो जनताको अमूल्य मतलाई प्रतिनिधि विहीन बनाउने र लोकतन्त्रलाई कथित ठूला पार्टीको नियन्त्रणमा राख्ने घोर अलोकतान्त्रिक कदम हो । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को प्रथम राष्ट्रिय सम्मेलनले नेपाल सरकारको यस निर्णयको घोर विरोध गर्दछ र यसको तुरन्त खारेजीको माग गर्दछ ।
२. नेपालको हरेक क्षेत्रमा भ्रष्टाचार निकै मौलाउंदै गैरहेको छ । भ्रष्टाचारलाई नियन्त्रण गर्नुको साटो राज्यका अंगहरु नै सस्थागत भ्रष्टाचारमा डुबेका छन् र न्यायालयले समेत आफ्ना फैसलाहरु मार्फत् यसको संरक्षण दिईराखेको छ । हाम्रो पार्टी यसको घोर विरोध गर्दछ र भ्रष्टाचारीहरुलाई कडाईपूर्वक कार्यवाही गरी भ्रष्टाचार नियन्त्रण गर्न सरकारसंग जोरदार माग गर्दछ ।
३. नेपालको सबै क्षेत्रमा दलाल र माफियातन्त्रको बिगबिगी निकै बढेर गैरहेको छ । कथित ठूला पार्टीका नेताहरु नै यसमा संलग्न रहने र संरक्षणमा लाग्ने गरेका छन् । हाम्रो पार्टीको प्रथम राष्ट्रिय सम्मेलन यसको घोर विरोध गर्दछ र यसको अन्त्य गर्न सरकारसंँग जोरदार माग गर्दछ ।
४. खेतीयोग्य जमीनमा गरिने प्लटिङ्ग, अव्यवस्थित सहरीकरण तथा वस्ती विकास र काठमाण्डु लगायत देशका विभिन्न भागमा गरिएका जथाभावी सडक निर्माण र विस्तारले मानवीय जीवनलाई मात्र होईन पर्यावरणलाई समेत नकारात्मक प्रभाव पारिराखको छ । खेतीयोग्य जमीनको संरक्षण गर्न र सहरीकरण, वस्ती विकास र सडक निर्माण तथा विस्तार कार्यलाई व्यवस्थित गरी पर्यावरणीय सन्तुलन समेतलाई जोगाउन यो राष्ट्रिय सम्मेलन नेपाल सरकारसंग जोडदार माग गर्दछ ।
५. निजीकरणका नाममा शिक्षा र स्वास्थ्यमा भैराखेको माफियातन्त्र र व्यापारीकरणको हाम्रो पार्टी घोर विरोध गर्दछ । आधारभूत शिक्षा र स्वास्थ्यलाई आम नागरिकको नैसर्गिक अधिकारका रुपमा कार्यान्वयन गरी त्यसको निशुल्क व्यवस्थापन गर्न हाम्रो पार्टीको यो राष्ट्रिय सम्मेलन सरकारसंग विशेष माग गर्दछ ।
६. प्रतिक्रान्ति संस्थागत हुंदै गएको र क्रान्तिविरोधी दक्षिणपंथी अवसरवादीहरुको गठबन्धन बलियो बन्दै गएको वर्तमान सन्दर्भमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्टहरुका बीचमा एकता तथा ध्रुवीकरणको आवश्यकता बढेर गएको महसुस गर्दछ । यो स्थितिमा पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन सच्चा मालेमावादी कम्युनिस्ट पार्टीहरुलाई आह्वान गर्दछ ।
७. भाकपा (माओवादी)द्वारा संचालित आन्दोलनलाई नियन्त्रण गर्ने नाममा भारत सरकारले भारतीय आदिवासी जनतामाथि चलाएको “अपरेसन ग्रिन हण्ट” नामको सैन्य अभियान हाम्रो पार्टीको यो राष्ट्रिय सम्मलन घोर विरोध गर्दछ र उक्त दमन कार्य तत्काल रोक्न जोरदार माग गर्दछ ।
८. राष्ट्रिय स्वाधीनताको रक्षाका लागि उत्तर कोरियाद्वारा आणविक अस्त्र निर्माण गरेको विषयलाई निहुं बनाएर उत्तर कोरियाको अस्तित्वलाई नै समाप्त गरिदिने अमेरिकी साम्राज्यवादको धम्कीको यो राष्ट्रिय सम्मेलन घोर भत्र्सना गर्दछ ।
९. संविधानसभाको निर्वाचनमा आना दलालहरुको पक्षमा परिणाम नआएको विषयलाई बहाना बनाएर ल्याटिन अमेरिकी देश भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादले दिएको सैन्य आक्रमण गर्ने धम्कीको यो राष्ट्रिय सम्मेलन घोर भत्र्सना गर्दछ र भेनेजुयलाका जनताले अमेरिकी साम्राज्यवादका विरुद्ध चलाएको न्यायपूर्ण संघर्षप्रति हाम्रो पार्टी ऐक्यबद्धता व्यक्त गर्दछ ।
१०. विश्वमा आणविक हतियार बनाउने र तिनको परीक्षण गर्ने होडबाजी नै चलेको छ । साना र कमजोर मुलुकहरुलाई आणविक हतियार निर्माण नगर्न दवाव दिने तर साम्राज्यवादी मूलुकहरुले उक्त हतियार थुपारी राख्ने कामलाई हाम्रो यो राष्ट्रिय सम्मेलन घोर विरोध गर्दछ । विश्व आणविक हतियारविहीन हुनु पर्दछ र आणविक निरस्त्रीकरणको प्रक्रिया हजारौंको संख्यामा आणविक हतियार थुपार्ने रुस तथा अमेरिका लगायतका शक्ति राष्ट्रहरुबाट सुरु हुनु पर्दछ भन्ने यो राष्ट्रिय सम्मेलन जोडदार माग गर्दछ ।
११. पार्टीको यस राष्ट्रिय सम्मेलनले विश्वभरका उत्पीडित राष्ट्र तथा जनताको आत्मनिर्णको अधिकारलाई सम्मान गर्दछ र उनीहरुको स्वाधिनताको आन्दोलन प्रति समर्थन एवं ऐक्यबद्धता जाहेर गर्दछ ।
१२. सम्मेलन भारतसँग गरिएका सन् पचासलगायत सबै असमान सन्धि सम्झौताको खारेजीको माग गर्दछ ।































