लस भेगस गोलीकाण्डमा मारिनेको संख्या ५९ पुग्यो, ५२७ जना घाइते

लस भेगस गोलीकाण्डमा मारिनेको संख्या ५९ पुग्यो, ५२७ जना घाइते

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लस भेगस शहरमा भएको गोलीकाण्डलाई ‘दुष्टताले भरिपूर्ण क्रियाकलाप’ भएको टिप्पणी गरेका छन् ।

आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको सो घटनामा ५९ जना भन्दा बढीको मृत्यु भएको छ भने ५ सय २७ जना घाइते भएका छन् ।

ह्वाइट हाउसबाट बोल्दै राष्ट्रपति ट्रम्पले सो घटनापछि अमेरिकीहरु दुःख, स्तब्धता र पीडामा एकताबद्ध भएको बताएका छन् ।

सो घटनामा स्थानीय प्रहरीले देखाएको प्रतिक्रियालाई चमत्कारिक भन्दै त्यसका कारण धेरैको ज्यान जोगिएको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले राष्ट्रिय शोकको संकेत स्वरुप राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन् । अमेरिकी प्रहरीले सो गोलीकाण्ड नेभाडा राज्यका बासिन्दा ६४ वर्षीय स्टिभन प्याडकले मच्चाएको बताएको छ ।

उनले लास भेगास शहरस्थित एउटा अग्लो होटेलको ३२ औं तलामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली चलाएका थिए ।

प्रहरीले सो कोठामा आफूहरु प्रवेश गर्दा हमलाकारी प्याडक मृत अवस्थामा भेटिएको बताएको छ । प्रहरीले त्यहाँबाट १० वटा बन्दुक बरामद गरेको छ ।

लस भेगस शहर अवस्थित नेभाडा राज्यका स्थानीय सिनेटर डीन हेलरले सो गोलीकाण्डलाई ‘हिंसाको भयानक कार्य’ भनेका छन् ।

लस भेगस प्रहरीका शेरिफ जो लोम्बार्डाले सो गोलीकाण्डलाई एक्लो व्यक्तिले गरेको हमला भन्दै हमलाकारी प्याडकको उद्देश्यका बारे कुनै जानकारी नरहेको जनाएका छन् ।

प्रहरीले जारी गरेको विज्ञप्तीमा स्थानीय समय अनुसार आइतबार रातीको दश बजेर आठ मिनेट जांदा गोलीकाण्ड सुरु भएको जनाइएको छ । हमलाकारी स्टिभन प्याडक गत सेप्टेम्बर २८ तारिख देखि नै सो होटेलमा बस्दै आएका थिए ।