काठमाडौं । राष्ट्रिय जनता पार्टी, राजपा अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले पार्टीबाट विद्रोह गरेर सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् ।
राजपा परित्याग गरेका उनीहरुले ‘स्वतन्त्र राजनीतिक समूह’ का तर्फबाट एमालेको चुनाव चिन्ह सूर्यबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव लड्ने सहमति एमालेसँग गरेका छन् ।
सूर्य चिह्नबाट चुनाव लड्ने भएपनि एमाले भने प्रवेश गरि सकेका छैनन् । एमाले महासचिव ईश्वर पोखरेल र त्रिपाठीसहित पाँच नेताद्वारा जारी संयुक्त विज्ञप्तिमा सूर्य चिन्ह लिएर निर्वाचनमा उठ्ने सहमति भएको उल्लेख गरिएको छ ।
सहमति पत्रमा एमालेका तर्फबाट महासचिव पोखरेल र समूहका तर्फका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गरेका छन् ।
पूर्वसांसद तथा पूर्वमन्त्री त्रिपाठीको निर्वाचन क्षेत्र नवलपरासी, गुप्ता र ईश्वरदयालको कपिलवस्तु तथा पशुपतिदयाल र शुक्लाको बाँकेमा पर्दछ ।
दोस्रो चरणमा स्थानीय तहको निर्वाचनमा त्रिपाठीको पकड क्षेत्र नवलपरासीमा निर्वाचनमा भाग लिने नलिने विषयलाई लिएर राजपामा विवाद भएको थियो ।
पार्टीले निर्वाचनमा भाग नलिने निर्णय गरेपछि नवलपरासीमा राजपा उम्मेदवारले स्वतन्त्र हैसियतमा निर्वाचन लडेका थिए ।